चिसोबाट बच्न नेपालगन्जमा दाउरा वितरण

खजुरा, बाँके, २० पुस- शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो । वडाध्यक्षहरुको समन्वयमा नेपालगन्जको त्रिभुवनचोक, धम्वोझीचोक, बागेश्वरी मन्दिर, महेन्द्रपार्कलगायत ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले बताए उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ । नगरका केही स्थानमा आज पनि दाउरा वितरण गरिनेछ । उपमहानगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो । चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?