प्रदेश सरकारले भनेर निजगढ विमानस्थलको निर्माण कार्य रोकिँदैनः पर्यटनमन्त्री भट्टराई

प्रदेश सरकार भन्छः रुख काटेर विमानस्थल बन्न दिँदैनौ

काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे केन्द्र सरकार र प्रदेश २ सरकारबीच मत बाझिएपछि अन्यौल सिर्जना भएको छ । संघीय सरकारले बाराको निजगढमै विमानस्थल बनाउने बताइरहेका बेला प्रदेश दुई सरकारले भने निजगढमा विमानस्थल बनाउँदा लाखौँ रुख काट्नुपर्ने भन्दै अरु खाली जमिनमा विमानस्थल बनाउनुपर्ने सुझावसहित बारामा रुख काट्न नदिने बताइरहेको छ ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकाले बारामा रूख काटेर विमानस्थल बनाउँदा आफ्नो लक्ष्यमा अवरोध सिर्जना हुने भएकाले रुख काट्न नदिने बताउनुभएको छ ।

तर, संघीय सरकारका पर्यटनमन्त्री योगश भट्टराईले भने निजगढ अनतराष्ट्रिय विमानस्थल पुरानै स्थानमा बनाउने अडानमा हुनुहुन्छ । उहाँले निजगढ विमानस्थल अन्त सार्ने भन्ने विकल्प सरकारले सोच्दै नसोचेको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारले भनेर निर्माण कार्य नरोकिने जिकिर गर्दै मन्त्री भट्टराईले निजगढको विकल्प नभएको बताउनुयो ।

निजगढमा नै विमानस्थल बनाउने भनेर सरकारले धेरै भौतिक पुर्वाधार तयार गरिसकेको जानकारी दिँदै अन्यत्र सार्दा थप लगानी बढ्ने र विमानस्थलको भविष्य अन्यौलमा पर्न सक्ने मन्त्री भट्टराईको भनाई छ ।

संघीय सरकार र प्रदेश सरकारबीच फरकफरक धारणा सार्वजनिक भएपछि विमानस्थल निर्माणको भविष्य के हुने हो भन्ने अन्यौल सिर्जना भएको छ । सरकारले यसको टुंगो चाँडै लगाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?