वरियाताको विषयमा उपेन्द्र यादवले गरेको प्रस्तावले राजपामा हलचल

काठमाडौँ । लामो समयदेखि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका लागि विभिन्न अनौपचारिक वार्ता चलिरहेका छन् । दुई पार्टीबीच एकता भएपछि त्यसमा चारजना अध्यक्ष रहने जसमा पहिलो वरियताक्रममा महन्थ ठाकुर, दोस्रो वरियाताक्रममा डा. बाबुराम भट्टराई, तेस्रो वरियाताक्रममा उपेन्द्र यादव र चौथो वरियाताक्रममा राजेन्द्र महतो रहने चर्चा चलिरहेको थियो ।

तर, भदौ १२ गते बिहीबार समाजवादी पार्टीको पार्टी कार्यालयमा भएको औपचारिक वार्तामा उपेन्द्र यादवले गरेको लिखित प्रस्तावले राजपा नेपालमा तरङ्ग ल्याएको छ । उनले महन्थ ठाकुरलाई मानार्थ अध्यक्ष र डा.बाबुराम भट्टराई वरियाताक्रमको पहिलो नम्बरका अध्यक्ष तथा उपेन्द्र यादव दोस्रो वरियाताक्रमको अध्यक्ष रहने प्रस्ताव गरेपछि राजपाका नेताहरु अचम्ममा परेका हुन् । त्यस्तै, समाजवादी पार्टीले राजेन्द्र महतोलाई अशोक राईपछिको वरिष्ठ नेता दिएको छ । महतोलाई वरिष्ठ नेताको साथै पार्टीका सम्पूर्ण समिति तथा विभागलाई हेर्ने इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र शरतसिंह भण्डारीलाई सचिवालय सदस्य दिने प्रस्ताव गरिएको उक्त बैठकमा सहभागि नेताको दाबी छ ।

त्यति मात्र होइन, पार्टीको नाम समाजवादी पार्टी नै राख्ने, समाजवादी पार्टीकै झण्डा र चुनाव चिन्ह राख्ने प्रस्ताव गरिएको जनाइएको छ ।

पार्टीको नाम समुन्नत समाजवाद र कार्यकारी अधिकारसहित राष्ट्रपति शासन प्रणाली, निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने लिखित प्रस्ताव समाजवादी पार्टीबाट गरिएको छ ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उनलाई वरियाताक्रमको एक नम्बरमा राख्नुपर्ने, उनको पदलाई सम्मान गर्नुपर्ने तर्क समाजवादीका अध्यक्ष उपेन्द्र यादवको थियो । यद्यपि यो प्रस्ताव छलफलका लागि गरिएको हो । यो नै अन्तिम भने होइन । यो प्रस्तावमाथि छलफल गरेपछि तलमाथि हुन सकिन्छ ।

त्यसपछि राजपाका नेपालका तर्फबाट वार्ता समितिका संयोजक रहेका राजेन्द्र महतोले यसको बारेमा पार्टीमा छलफल गरेर जानकारी गराउने जवाफ दिएका थिए ।

यद्यपि, प्रस्तावबारेमा दुवै पार्टीका नेतामध्ये कसैले स्वीकार गरेका छैनन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले समाजवादी पार्टीबाट कुनै प्रस्ताव नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?