डेंगू नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तय गर्न नसकेको भन्दै सरकारकाे आलोचना

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । उहाँले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

नेकपाकै अर्की सांसद विशंखेले पनि सो रोग रोग लाग्न नदिन सरकारलाई सचेत गराउनु भयो । उहाँले सो रोगबाट बच्न संचार माध्यामबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डुेंगू रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाउनु भयो । उहाँले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गर्नु भएको थियो । उहाँले डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताउनु भयो ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?