भक्तपुरमा १२ जनामा डेङ्गुको संक्रमण भेटियो (बच्ने उपायसहित)

भक्तपुर । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले भक्तपुर डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो ।

यहाँ डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।

कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन निम्न सुझाव दिएको छः

  • दिउँसो टोक्ने लामखुट्टेबाट बच्न,
  • घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न,
  • झ्याम्म भएका झाडी नराख्न,
  • फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?