भुटानलाई पराजित गर्दै पुग्ला त नेपाल फाइनलमा ?

काठमाडौं । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत अन्तिम लिग खेल्न नेपालले बिहिबार भुटानको सामना गर्दैछ । भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल मध्यान्न सवा १२ बजे देखि शुरु हुँदैछ ।

उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्ने भएकाले भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

यसअघि, नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?