राजनीतिसँगै पशुपालनमा सक्रिय युवा नेता

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र गाईपालनलाई जीवनयापनको माध्यम बनाउनुभएको छ । राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ गाईपालन र राजनीतिलाई सँगसँगै अगाडि बढाएको भट्टराईले बताउनुभयो । “समाजसेवा गर्नका लागि राजनीतिमा होमिएँ, समाजसेवाले मात्रै घरखर्च चलाउन सकिन्न, त्यसैले जीवनयापनका लागि गाईपालन गरिरहेको छु” भट्टराईले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी बन्दीपुर गाउँपालिका–५ को वडा कमिटी सचिव रहनुभएका उहाँको गाईफार्ममा अहिले २९ गाई छन् । ती गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन भइरहेको र दूध बिक्रीबाट दैनिक ११ हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक रु एक लाख ३२ हजार आम्दानी हुने गरेको छ । नेकपाको वडा तहको संरचना एकीकरण हुनुअघि भट्टराई तत्कालीन नेकपा एमालेको वडा कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । अहिले पार्टी एकतापछि सो वडा पूर्वमाओवादी केन्द्रको भागमा परेको कारण उहाँले वडा सचिवको जिम्मेवारी पाउनुभएको छ । विद्यार्थीकालदेखि अनेरास्ववियुमा आबद्ध हुनुभएका भट्टराई विद्यार्थीकालमै गाईपालनमा लाग्नुभएको थियो । “क्याम्पसको अध्ययनदेखि नै गाईपालन शुरु गरेको थिएँ,” उहाँले भन्नुभयो, “विदेश जान मन लागेन, गाईपालनमै रमाउन थालेँ ।”

भट्टराईलाई गाईपालनमा श्रीमती कल्पनाले साथ दिनुभएको छ । श्रीमान् पार्टीको काममा जाँदा गाईको स्याहारसुसार आफूले गर्ने गरेको कल्पनाले बताउनुभयो । पार्टीको कामसँगै गाउँमा हुने अन्य सामाजिक काममा पनि भट्टराई नियमित पुग्नुहुन्छ । आफू सरहका युवाहरु देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा होमिएका बेला इच्छाशक्ति भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश भट्टराईले दिनुभएको छ ।

कृषि विकास बैंकमार्फत इजरायलमा पुगेर एक महीनासम्म त्यहाँको व्यावसायिक कृषि र पशुपालनको अवलोकन गर्ने मौका पाउनुभएका उहाँले त्यसपछि गाईपालनमा थप व्यावसायिक ज्ञान हासिल भएको बताउनुभयो । इजरायलबाट फर्केपछि घरमै दूध डेरीे स्थापना गर्नुभएका उहाँले डेरीलाई भने निरन्तरता दिन सक्नुभएन । “गाईपालन र डेरी सञ्चालन दुवै काम एकसाथ गर्न नसकिने रहेछ भन्ने सोचेर पछिल्लो समय डेरी बन्द गरेको छु,” भटृराईले थप्नुभयो ।पार्टीका उच्च तहका नेताहरुले गाईफार्म अवलोकन गर्दै हौसला प्रदान गर्नाका साथै कृषि मन्त्रालयका सचिव, विभागीय प्रमुख र अन्य विज्ञहरुले समेत बेला–बेलामा उहाँको फार्म अवलोकन गर्ने गरेका छन् ।

वडाध्यक्ष बाख्रापालनमा

यसैगरी भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल पनि राजनीतिसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । उहाँले बाख्रापालनबाट वार्षिक रु ५० लाख आम्दानी गर्दै आउनुभएको छ । विसं २०६९ मा सोही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका उहाँले कृषकसँगै वडाध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको छ ।

मल्लको फर्ममा अमेरिकन सानन जातका र अष्ट्रेलियन बोयर जातका१०० बाख्रा र पचासभन्दा बढी पाठापाठी छन् । ती बाख्रालाई खुवाउन १५० रोपनी जमीनमा घाँसखेती गरिएको छ ।घर नजिकैको जग्गामा बडहरे, डालेघास, बकाइनो, पाखुरी, निवारो,राईखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाइएको छ । बाख्राका लागि चार वटा छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ । फार्ममा हालसम्म रु तीन करोड लगानी भएको मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?