स्कुल जाने क्रममा बेहोस भएकी छात्राको मृत्यु

काठमाडौं । विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ ।

रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो ।

बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा सडकमा एक्कासी ढलेर उनी बेहोस भएकी थिइन् । उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो ।

उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मेडिकल कलेजले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

छात्रा फाल दुई वर्षदेखि बेहोस भइरहने र यो महीनामा मात्र तीन पटक विद्यालयमा बेहोस भएको विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताउनुभयो ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?