भीम रावल र बाबुराम भट्टराईबीचको ‘रोचक’ वाक युद्ध

घम्साघम्सी निरन्तर जारी रहने संकेत छ ।

चार वर्षअघि मधेश आन्दोलनका क्रममा एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा यही भदौ ७ गते आयोजित एक सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई ‘मुर्दा शान्ति’ भन्दै अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताए ।

त्यसको ठीक दुई दिनपछि भदौ ९ गते सोमबार बिहान ११ः४७ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीम रावलले टिकापुरमा डा. भट्टराईले गरेको सम्बोधनको कडा शब्दमा आलोचना गरे । उनले एक ट्वीट गर्दै डा. भट्टराईले टिकापुरमा उत्तेजक भाषण गरेर सामाजिक सद्भाव बिथोल्न खोजेको आरोप लगाए । भट्टराईको आलोचना गर्ने क्रममा नेता रावलले अन्य थुप्रै कडा शब्दको सहायता लिएका छन् । डा. भट्टराईको सम्बोधन ‘उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार’ भएको नेता रावलले टिप्पणी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई पनि के कम ? आफ्नो अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका नेता रावललाई त्यही दिन साँझ ७ः ३४ मा दुई वटा ट्वीट गर्दै गतिलो जवाफ फर्काए । माक्र्सवादको सहयोग लिँदै उनले लेखेका छन्, ‘मार्क्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष हैन सपेक्ष हुन्छ भन्छ!न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्छ ! नाउँ ‘कम्युनिष्ट पार्टी’ राख्ने तर कुरा यस्तो एकलजातीय अहंकारवादी गर्ने ? अलि सुहाएन है !…’

अझ त्यही ट्वीट्मा आफैं प्रतिक्रिया दिँदै ‘मित्र भीम रावललाई प्रश्न–..’ भन्दै ‘झापाआन्दोलन भजन गाएर भएको थियो ? थारूहरूको जमीन खोसेर उनीहरूलाई नै कमैया, कमलरी बनाउनु ‘‘कम्युनिज्म” हो ? तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो ? थारू, मैथिली र नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदा हुन् ?’ भनेर नेता रावललाई डा. भट्टराइले प्रश्न गरेका छन् ।

त्यही दिन राति १०ः२४ मा फेरि नेता रावलले डा. भट्टराईलाई ट्वीटर मार्फत नै जवाफ फर्काए । ‘निरंकुश निर्दलीय व्यवस्था विरोधी झापा विद्रोह र बाबुरामजी संलग्न रही बनेको संविधान अन्तर्गत उहाँ नै प्रधानमन्त्री र सांसद भइसक्नु भएको व्यवस्थाबीचको अन्तर दिल्लीमा शिक्षित व्यक्तिले बुझ्नु हुन्न र ?’ उनले लेखेका छन्, ‘थारूको जग्गा बाबुरामजीले कम्युनिष्ट रहँदा खोसेको सम्झँदै अरूलाई आरोप लगाउनु भएको हो कि?’

दुई जना शीर्ष नेताद्वयको सामाजिक सञ्जालको जुहारी लगभग सकियो । तर, घम्साघम्सी निरन्तर जारी रहने संकेत छ ।

सामाजिक सञ्जालमा चलेको जुहारीको ठीक ३ दिनपछि आज अर्थात भदौ १२ गते बुधबार नेकपा नेता रावलले पुनः बाबुराम भट्टराईलाई धनगढी पुगेर सार्वजनिक कार्यक्रमबाटै तीर हाने । धनगढीबाट नेता रावलले डा. भट्टराईजस्ता नेताकै कारण थारु समुदायले दुःख पाएको आरोप मात्र लगाएनन् भट्टराईको अभिव्यक्त देशमा विखण्डन निम्त्याउने खालको भएको टिप्पणी समेत गर्न भ्याए । ‘भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनुहुँदैन भन्दै आउनु भयो’, उनले भनेका छन्, ‘यस्तो प्रवृत्तिले विखण्डन मात्रै निम्त्याउछ ।’

दुई जना शीर्ष नेताद्वयबीचको घम्साघम्सी रोचक सँगै गम्भीर पनि उत्तिकै छ । तर, टिप्पणी गर्ने, विश्लेषण गर्ने काम तपाईंको ल…।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?