५ वर्ष बित्दा पनि ७ हजार उखु किसानले पाएनन् अनुदान रकम

शम्भू माली
0
Shares
तस्वीरः गुगल

कपिलवस्तु । सरकारले आर्थिक वर्ष ०७१/०७२ मा उखु किसानहरुलाई प्रति क्विन्टल रु. २५ का दरले दिने भनेको अनुदान रकम कपिलवस्तुका किसानहरुले हाल सम्म नपाएको गुनासो गरेका छन । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिने भनेको अनुदान रकम ५ वर्ष बित्दा समेत पाएका छैनन । कहिले सभा, कहिले अन्दोलन त कहिले अनशन लगायतका विभिन्न विरोधका कार्यक्रम गरेपनि उखु किसान वर्षाैंदेखि पीडित हुँदै आएका छन । विभिन्न समयमा आन्दोलन गरेर सरकारको ध्यानाकर्षण गर्दै आएपनि सरकारले भने आश्वासन मात्रै दिने गरेकाे छ । तर उखु किसानहरु रकम पाउने आसमै बसेका छन ।

उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम २ करोड ४८ लाख २३ हजार ९ सय रुपैया हाल सम्म नपाएको कृषक ओम प्रकाश चौधरीले बताउनुभयो । उहाँले जिल्लामा ७ हजार जना उखु कृषकले अझै अनुदानको रकम नपाएको बताउनुभयो । अन्य जिल्लाका उखु किसानले सोही आर्थिक वर्षमा नै अनुदान वापतको रकम पाएको भएपनि कपिलवस्तुका किसानले ५ वर्ष वित्दा पनि अनुदानको रकम पाएका छैनन् ।

कपिलवस्तुका उखुँ किसानले जिल्लामा रहेको महालक्ष्मी सुगर्स मिल्सलाई आफ्नो उखु विक्री गरेका थिए । नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच सोही समयमा विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ मात्र दिएका थिए । सरकारले २५ रुपैयाँ उखु किसानलाई अनुदान दिने भनेको थियो । सरकारले दिने अनुदान वापतको रकम समयमा नै नदिँदा किसानहरु हरेक वर्षजसो आन्दोलित हुनुपर्ने देखिन्छ ।

२०७२ मा पाउनु पर्ने अनुदानको रमक नपाएपछि जिल्लाका किसानहरुले समयमा समयमा आन्दोलन गर्दै आएका छन । २०७३ असोजबाट आन्दोलन गर्दै आएका किसानले हरेक वर्ष आन्दोलन गर्दै आएका छन । कृषि मन्त्रालयमा धाउँदा समेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको हो । अनुदानको रकम यस बर्षपनि नपाएपछि आइतबार किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत प्रधानमन्त्रीको कार्यालय ,गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?