कांग्रेसले समानुपातिक सूची सच्यायो, को-को भए आउट ?

काठमाडौँ, २० पुस- कांग्रेसले प्रदेश सभातर्फको समानुपातिक सांसदको सूची सच्याएको छ । निर्वाचन आयोगले सांसदको सूची सच्याउन दिएको निर्देशनबमोजिम कांग्रेसले सूची सच्याएर आयोगलाई पत्र पठाएको हो । आयोगले १८ पुसमा कांग्रेसलाई तीनवटा प्रदेशमा पाँचवटा नाम क्लस्टरअनुरूप नमिलेको भन्दै मिलाएर पठाउन पत्र काटेको थियो । आयोगको पत्रबमोजिम क्लस्टर मिलाएर बुधबार पठाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए आयोगको पत्रअनुरूप कांग्रेसले प्रदेश नम्बर १ मा सीता पौडेलको नाम हटाएर शान्ता पौडेलको नाम सिफारिस गरेको छ । प्रदेश नम्बर १ मै टेकचन्द्र विश्वासको नाम काटेर दलित महिला कोटामा कल्पनाकुमारी सरदारको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ कांग्रेसले प्रदेश २ मा आदिवासी जनजाति क्लस्टरबाट एकजना राख्नुपर्नेमा नराखी मुस्लिम कोटामा एकजना बढी राखेर पठाएको थियो । आयोगले सच्याउन भनेपछि मुस्लिम कोटाबाट सलमा खातुनको नाम काटेर आदिवासी जनजाति कोटाकी शोभा लामाको नाम राखेको छ । प्रदेश २ मै दलित क्लस्टरबाट सिफारिस गर्नुपर्नेमा मधेसी कोटाबाट श्यामपरी देवीलाई सिफारिस गरेको थियो । त्यसलाई पनि आयोगले सच्याउन भनेपछि उनको नाम मधेसी क्लस्टरबाट हटाएर दलित क्लस्टरमा राखेर पठाइएको कांग्रेसले जनाएको छ कांग्रेसले प्रदेश ५ बाट एकजना अल्पसंख्यकको नाम सिफारिस गर्नुपर्नेमा नगरी पठाएको थियो । त्यसलाई सच्याउँदै खस–आर्य महिला समूहबाट सिफारिस भएकी सूर्यमती उपाध्यायको नाम हटाएर मधेसी–दलित कोटामा रहेकी शान्तिदेवी बर्मा सोनारको नाम पठाएको कांग्रेसले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?