बार्सिलोनाले गोल खाँदा मेस्सीको छोराले सेलिब्रेसन गरेपछि मेस्सी स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको फुटबल खेलमा रमाइलो दृश्य देखिएको छ । आइतबार राति भएको बार्सिलोना र रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीका छोरा माटियो मेस्सीले बुबाको क्लबले गोल खाँदा सेलिब्रेसन गरेका थिए ।

माटियो अहिले निकै भाईरल बनेका छन् । आफ्नै बुबाको क्लबले गोल खाँदा सेलिब्रेसन गरेपछि उनी भाईरल बनेका हुन् ।

आफ्नो बुबाको क्लब बार्सिलोनाको खेल हेर्ने माटियो पनि नाउ क्याम्प पुगेका थिए । माटियो बुबा मेस्सीकै काखमा बसेर खेल हेरिरहेका थिए । नजिकै अर्का खेलाडी लुइस स्वारेज पनि छोरासँग बसेका थिए ।

मेस्सी र स्वारेज चोटको कारण उक्त खेलमा मैदान उत्रिएका थिएनन् ।

जब खेलको १५ औं मिनेट चलिरहेको थियो । बार्सिलोनाले गोल खान पुग्यो । बेटिसका नबिल फेकिरले गोल गरे । तर, मेस्सीको छोरा माटियो भने झुक्किन पुगे र, बार्सिलोनाले गोल गरेको सम्झेर खुसियाली मनाउन थाले ।

आफ्नो क्लबले गोल खाँदा माटियोको सेलिब्रेसन देखेर नजिकै रहेका स्वारेज निकै अचम्मित भए । उनको हाउभाउ निकै अनौठो थियो ।

पछि मेस्सी र स्वारेजले आफ्नो टिमले गोल गरेको हैन भनेर माटियोलाई सम्झाएका थिए । त्यो सुनेर माटियो जिल्ल परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?