मलेसिया, सिङ्गापुर र थाइलैण्डमा ‘अग्निदहन’ प्रदर्शन

appharu
0
Shares

बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र ‘अग्निदहन’ विदेशमा प्रदर्शन हुनेभएको छ ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा अग्निदहन प्रदर्शन हुँदैछ ।

तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो चलचित्र प्रदर्शनको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।

प्रदर्शनी समारोहमा प्रतिष्ठानका अध्यक्ष उपाध्यायसहित वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नवीनकिरण भुषाल सहभागी हुनेछन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सुदूर पश्चिमेली नेपाली समाजको पाँचौँ अधिवेशन तथा गौरा पर्वको कार्यक्रममा अग्निदहन प्रदर्शन गरिनेछ । चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, दुर्गा न्यौपाने र विष्णु बास्तोलाको भूमिका छ ।

घनश्याम लामिछानेद्वारा निर्देशित र लोकमणि पौडेलद्वारा लेखिएको उक्त चलचित्र मकवानपुर, चितवन, पोखरा र काठमाडौँमा छायांकन गरिएको हो । करिब रु ८० लाख लागतमा निर्माण गरिएको चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि बनाइने अध्यक्ष उपाध्यायले बताउनुभयो ।

भदौ ११ गते सिङ्गापुरमा तथा भदौ १४ गते थाइलैण्डमा उक्त चलचित्र प्रदर्शन गरिनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?