भिम रावलको प्रश्न – कति मानिस मारिएपछि बाबुरामजस्ता सन्तुष्ट हुने होलान् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाउनुभएको छ । चार वर्षअघि एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा भदौ ७ गते आयोजित एक सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति भन्दै अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएका थिए ।

पूर्वप्रधानन्त्री समेत रहनुभएका भट्टराईलगायत काठमाडौंबाट गएकाहरुले सामाजिक सदभाव बिथोल्ने, विभाजनकारी, साम्प्रदायिक र सिद्धान्तहीन गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा नेता रावलले आपत्ति जनाउनुभएको छ ।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें । उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’

भाद्र ७ गतेको सभालाई काठमाडौंबाट गएका बाबुरामलगायत खगेन्द्र संग्रौला, किशोर नेपालहरुले सम्बोधन गर्दै टीकापुर हत्याकाण्डमा रेशम चौधरी निर्दोष रहेको बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?