‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रियोस्’ भनेर कामना गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत गाली गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रियोस् भनेर कामना गर्ने एक जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय हृदय उपाध्याय रहेका छन् ।

अपराध महाशाखा टेकु काठमाडौँले साईबर अपराध अन्तर्गत ईलाका प्रहरी कार्यालय लम्कीलाई पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उपाध्यायलाई अपराध महाशाखा टेकु नै पठाईने लम्की प्रहरीले जनाएको छ ।

उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उड्छन् विचरा जनता’ भन्दै स्टाटस लेखेका थिए । यस्तै, उनले फेसबुक स्टाटसमै, ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समाचार सुन पाइन्छ’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?