वरिष्ठ पत्रकार रिसालको ‘नेपाली वाङ्मयका तीन तारा’ लोकार्पित

appharu
0
Shares

काठमाण्डौं । वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपाली वाङ्मयका तीन तारा’ नामक पुस्तकको शनिबार लोकार्पण गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल र नाट्यसम्राट बालकृष्ण समको जीवनीमा आधारित पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा प्रतिष्ठानका कुलपति उप्रेतिले पत्रकार रिसालले पत्रकारिताको माध्यमबाट नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्न कन्ज्युँसाइ गर्न नहुने बताउनुभयो ।

“रिसालले पुस्तकको माध्यमबाट तीन ताराको व्यक्तिगत र साहित्यिक प्रभावको बारेमा समेत विश्लेषण गर्नुभएको छ”, उहाँले भन्नुभयो, “पुस्तकले नयाँ पुस्ताका लागि पनि अध्ययन र अनुसन्धान गर्न थप सहयोग गर्ने स्पष्ट छ ।”

पुस्तकमाथि टिप्पणी गर्दै डा अभि सुवेदीले लेखक रिसालले तिन साहित्यकार देवकोटा, पौडेल र समकाबारेमा निकै रोचक ढङ्गले विषयवस्तुहरु पस्किएको बताउनुभयो । “कविहरुको जीवनीले लेखनीलाई प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, “कला साहित्यका विभिन्न आयमहरुलाई निकै सरल ढङ्गले उठाउनुभएको छ ।”

उहाँले रिसालले पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई उच्च योगदान पु¥याएको भन्दै साहित्य पत्रकारितासँग जोडिएका विषयहरुलाई पुस्तकमा समावेश गरेर पठनीय बनाएको बताउनुभयो ।

अर्का टिप्पणीकार डा अरुणा उप्रेतिले नेपाली साहित्यका धरोहर व्यक्तिहरुको जीवनी र उहाँहरुका विविध पक्षहरुलाई पुस्तकमा स्थान दिइएको बताउँदै “कविहरुका राम्रा, नराम्रा र रोचक जानकारीसहित लेखकले पुस्तक प्रकाशनमा ल्याउनुभएको छ”, भन्नुभयो ।

उहाँले साहित्यकारको इतिहास बोकेको यो पुस्तक एउटा दस्तावेज पनि हो भन्नुभयो ।

लेखक रिसालले नेपाली साहित्यमा तीन ताराले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पुस्तक प्रकाशनमा ल्याएको भन्दै उहाँहरुको बारेमा अध्ययन गर्नका लागि पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले लामो अन्तरालको खोज टिपोट तथा तीन साहित्यकारसँगको भोगाइबाट रिसालले पुस्तक तयार गर्नुभएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष नेपालले तीन प्रतिभाहरुको कृतित्व तथा लेखनशक्ति र कलाको सारभूत रुपमा चर्चा गर्नुका साथै उहाँहरुको आन्तरिक तथा वैयक्तिक जीवनको पनि उत्खनन् गरेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?