अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप

एजेन्सी । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ ।

सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अबरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ ।

अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा सर्वोच्च अदालतले लोउमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । लोउको पासपोर्ट जफत गर्नुका साथै देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

लोउ अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बाउतेफ्लीकाको शासनकालमा सन् २०१३ देखि २०१९ सम्म अल्जेरियाका निकै प्रभावशाली कानुन मन्त्री हुनुहुन्थ्यो ।

दुईजना पूर्व प्रधानमन्त्री अब्देलमलिक सेल्लाल र अहमद ओयाहिया समेतका धेरै जना वरिष्ट सरकारी अधिकारीहरुलाई पनि पदको दुरुपयोग तथा भ्रष्टाचारको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ ।

गत फेब्रुअरी २२ देखि अल्जेरियामा जारी जनप्रदर्शनबाट राष्ट्रपति बोतेफ्लीकाको शासन ढलेको थियो । प्रदर्शनकारीहरुले मुलुकमा सुशासन कमजोर बनेको, भ्रष्टाचार बढेको तथा प्रहरी दमन बढेको भन्दै दोषीमाथि कारबाही गर्न निरन्तर माग गरी प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?