चित्रकला प्रदर्शनी शुरु

appharu
0
Shares

काठमाण्डौं । नेपाल कला परिषद्मा विहिबारदेखि चित्रकला प्रदर्शनी शुरु भएको छ । आधुनिक कला समाज (सोमा)ले आयोजना गरेको प्रदर्शनीको उद्घाटन कार्यक्रममा डा उपेन्द्र महतोले नेपाल आर्थिक हिसाबले कमजोर भए पनि कला, संस्कृति र साहित्यको क्षेत्रमा निकै अघि रहेको बताउनुभयो ।

उहाँले कला संस्कृतिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगत्मा परिचत गर्न कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । “समृद्ध मुलुक बनाउन कलाकार मानसिक, शारीरिक र बौद्धिकरूपमा लागि परिरहेका छन्”, उहाँले भन्नुभयो, “अब मुलुकलाई आर्थिक रूपमा सबल बनाउन सबै एकजुट हुनुपर्ने छ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलाको माध्यमबाट नागरिकमा जागरण ल्याउन सकिने भन्दै ललितकलाले जो कोहीलाई आकर्षित गर्ने बताउनुभयो । “ललितकलामा बौद्धिकता अनिवार्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “हजार अक्षरले दिने सन्देश एउटै चित्रबाट पाउन सकिन्छ ।”

कार्यक्रममा आधुनिक कला सम्मानबाट चिनकाजी ताम्राकार र टेकवीर मुखियालाई नगद रु १० हजार सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । यस्तै कलाकार कर्ण मास्के, हीरालाल डङ्गोल र शान्तकुमार राईलाई मरोणापरान्त सम्मान गरियो ।

सोही अवसरमा डा यामप्रसाद शर्माद्वारा लिखित ‘समकालीन नेपाली चित्रहरु’ नामक अङ्ग्रेजी पुस्तकको लोकार्पण गरियो । पुस्तक डा महतो, प्रतिष्ठानका कुलपति कर्माचार्य, राससका प्रधानसम्पादक श्याम रिमालले संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रधानसम्पादक रिमालले पुस्तकले नेपाली चित्रको चित्रण गरेको बताउनुभयो । “पुस्तकमा नेपाली चित्रकारहरुको जीवनी र चित्रसँग सम्बन्धित विभिन्न पक्षहरुलाई उतारिएको छ”, उहाँले भन्नुभयो, “लेखकले विभिन्न चित्रकारहरुको जीवनी समावेश गरेर उहाँहरुको सम्मान गर्नुभएको छ ।”

उहाँले नेपाली ललितकलाको इतिहासलाई पनि पुस्तकमा समावेश गरेको भए निकै उत्कृष्ट कृति हुने जिकिर गर्नुभयो । उहाँले अङ्ग्रेजीमा प्रकाशन गरे पनि निकै सटिक र सरल भाषा रहेकाले पाठकको ध्यान खिच्ने बताउनुभयो ।

लेखक शर्माले नेपाली चित्रका विभिन्न पाटालाई खोज र अनुसन्धानका माध्यमबाट पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । “नेपाली कला क्षेत्रका विभिन्न राम्रा÷नराम्रा पक्षहरुलाई उल्लेख गरेको छु”, उहाँले भन्नुभयो, “इतिहास र पौराणिक कुराहरुलाई पनि स्थान दिएको छु ।”

कार्यक्रममा सोमाका अध्यक्ष शङ्करराज सिंह सुवाल, उपाध्यक्ष गोविन्द डङ्गोल, सचिव जीवन राजोपाध्ययलगायतले मन्तव्य राख्नुभएको थियो । प्रदर्शनीमा विभिन्न कलात्मक चित्रहरु राखिएको छ । करीब १०० भन्दा धेरै चित्रहरु बिक्रीमा राखिएको हो । रु २५ हजारदेखि १५ लाख मूल्य बराबरका चित्रहरु प्रदर्शनीमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?