विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न गाह्रो भएको बताउनुभएको छ । आज बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने स्पष्ट पार्नुभएको हो । तर, सरकारले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताउनुभयो ।

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गर्नुभएको थियो ।

त्यस्तै कांग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी सोध्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?