अलैँचीको मूल्य बढेपछि किसान हर्षित

इलाम, १९ पुस । एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।

प्रतिमन (४० किलो) एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् यसभन्दा अघि अलैँची कारोबार भने ठप्प बनेको थियो । अहिले अलैँची प्रतिमन ३५ हजारदेखि ३८ हजार हाराहारीमा कारोबार भइरहेको छ । भाउ वृद्धि भएसँगै अलैँची कारोबारमा वृद्धि हुन थालेको छ उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । “गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ”, फुएतप्पाका कर्णबहादुर राईले भने, “अलैँचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो ।”छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैँची बगान मासिएको थियो । भाउ पाउने आशामा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैँची रोपिरहेका छन् । किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैँचीका बिरुवा उपलब्ध गराउँदै आएको छ अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले अलैँचीको मूल्यमा क्रमिक सुधार हुन थालेको बताउनुभयो । उचित मूल्य पाउने आशामा किसानले तीन÷चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् ।

यस वर्ष अलैँची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । इलाममा आव २०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?