लोकन्थलीमा पहिरो: पाँच घर जोखिममा

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी ट्याङ्की निर्माणका लागि खाडल खनेको स्थानमा आज बिहान पहिरो जाँदा पाँच घर जोखिममा परेको छ ।
मध्यपुरथिमि १, २ र ३ को खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा रातिआएको पानीका कारण कालोपत्र सडकसहित पहिरोे जाँदा पाँच घर जोखिममा परेको वडा नं १ का वडाध्यक्ष सुुरज खड्काले जानकारी दिनुभयो ।

खानेपानी समस्या समाधान गर्न सरकारको एक करोड ३२ लाखको लागतमा वडा नं १ को भरिलो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको उहाँले बताउनुभयो । गत वैशाख महीनादेखि ट्याङ्की निर्माणका लागि खन्न थालिएपनि वर्षा शुरु भएको भन्दै ठेकेदारले काम रोकेर पुनः भदौ १ गतेदेखि खन्दा रूखसमेत ढलेर गएको पहिरोले पक्की घरहरु जोखिममा परेका हुन् । वडाध्यक्ष खड्काले ग्याबिन वाल लगाउने भनेर खन्दा आज बिहानीपख पहिरो गएको जानकारी दिँदै कालोपत्र सडकसमेत पहिराले बगाउँदा घरहरु जोखिममा परेको बताउनुभयो ।

पहिरो गएपछि जोखिमयुक्त घरका सामानहरु सुरक्षित स्थानमा सारिएको छ । सांसद महेश बस्नेत, प्रजिअ नारायण भट्ट, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थानका प्रमुखहरुको टोलीले पहिरो गएको स्थल अवलोकन गरेको छ ।
अवलोकनपश्चात् तत्काल ट्याङ्की निर्माण रोकेर घर सुरक्षित राख्न आजैदेखि पर्खाल लगाउन शुरु गरिने र अन्य सुरक्षाका उपाय अवलम्बन गरिने प्रजिअ भट्टले जानकारी दिनुभयो । उहाँले ती घरहरुका सामान सुरक्षित स्थानमा लगेर थप क्षति हुन नदिन आवश्यक प्रयास गर्न खानेपानी संस्थानलाई निर्देशन पनि दिइएको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?