अपराध अनुसन्धान र नियन्त्रणमा मनोविज्ञान


प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १३:३७

अपराध शास्त्रीहरुका अनुसार अपराधको उद्गम थलो समाज हो, र अपराध समाजकै एउटा भाग हो । अपराध विहीनको समाज बिरलै हुन्छ । अर्थात, अपराधले समाजमा स्थान बनाएको हुन्छ । इटालिका अपराधशास्त्री इनरिको फेरीका अनुसार अपराध समाजकै उपज हो । यो समाजबाट शुरु हुन्छ र न्यूनीकरण पनि समाजकै सहयोगमा हुन्छ । उनले आफ्नो पुस्तक ‘क्रिमिनल सोसियोलोजी’मा अपराधका कारण र परिणामलाई उल्लेख गरेको पाइन्छ । अर्का अपराधशास्त्री अमेरिकाका लि लि ब्राउनले पनि आफ्नो पुस्तक ‘द पुलिस एन्ड सोसाइटी’मा मानिस सामाजिक प्राणी भएकाले समाजका अनेक किसिमका असमानता, असन्तुष्टी, वैमनस्यता जस्ता व्यक्तिमा हुने मनोभावनाका समस्याले अपराध सिर्जित हुने कुरा उल्लेख गरेका छन । सामान्यतमा कानुन विपरितका कार्यलाई अपराध मान्ने गरिएपनि केही आपराधिक गतिविधिहरुले भने सामाजिक मर्यादामा समेत गम्भीर असर पुर्‍याइरहेका हुन्छन । कानुनले जुन कार्य अपराध हो भनेको छ, त्यसलाइ नै अपराध मान्नुपर्ने बताउँछन् अधिवक्ता आर. सी. पौडेल । अपराध र अपराधीको पत्ता लगाउनु हरेक राज्यको प्रमुख कर्तव्य हो भने हरेक नागरिकले यसमा अनिवार्य सहयोग गर्नु नागरिकको मुल दायित्व हो । नेपालमा खासगरी अपराधको अनुसन्धान नेपाल प्रहरीले गर्दछ । अपराधको प्रकृतिअनुसार अन्य निकायलाइ पनि सरकार वा प्रहरीले आवश्यकता बमोजिम जिम्मा दिन सक्छ ।

अपराधको अनुसन्धान गर्न नेपाल प्रहरी एसियामै उत्कृष्ट मानिने कुरा प्रहरिको उपलब्धिबाटै पुष्टि हुन्छ । प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोमा लामो समय काम गरेका केही प्रहरी अधिकारीहरुले पनि अपराध अनुसन्धानमा व्यक्तिको शारिरिक र मानसिक अवस्थाको उल्लेख्य भूमिका रहने अनुभव बताउँछन । तर, अनुसन्धानको उच्चता र सफलतामा कहिलेकाहीँ प्रश्न उठ्ने गरेको पाइन्छ । अपराधको उचित र समयमा अनुसन्धान नभएका केही घटनाहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ । यसमा समय अनुसारको प्रविधी, माध्यम वा तरिकाको प्रयोगमा कमी भएको विज्ञहरुले तर्क गर्दै आएका छन् ।

अपराध अनुसन्धानसँगै नियन्त्रणका लागि सरकारले विभिन्न योजना बनाई काम पनि गर्दै आएको छ । प्रहरी पनि अपराधको न्युनिकरणका लागि आफ्ना गतिविधी, रणनीति र सक्रिययतामा सशक्त रुपमा प्रस्तुत भएको पाइन्छ । अपराध अनुसन्धानका आफ्नै विधि छन् । जस्तो, तत्काल घटनास्थल पुगि अनुसन्धान गर्नु, विभिन्न व्यक्ति वा माध्यमको सहायता लिनु, विशेष तालिम प्राप्त कर्मचारीको परिचालन गर्नु, छुट्टै समिति वा टोली बनाएर अनुसन्धान गर्नु, समय समयमा प्रहरीलाई विभिन्न राष्ट्रिय, अन्तराष्ट्रियस्तरका प्रशिक्षण को व्यवस्था मिलाउनु, क्षेत्रगत विज्ञताका आधारमा अनुसन्धानको जिम्मेवारी कर्मचारीलाई दिनु, आधुनिक प्रविधिको उचित प्रयोग गर्नु लगायतका माध्यमहरु अनुसन्धानमा आवश्यक र महत्वपूर्ण मानिन्छन ।

त्यसैगरी, अपराध अनुसन्धान सँगसँगै प्राप्त कारण र देखिएका समस्याबाट अपराधको नियन्त्रण गर्न सकिन्छ । आपराधिक कार्य हुन सक्ने विषयमा जनचेतना फैलाउनु, शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु, सामाजिक सद्भाव वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु, मादक पदार्थ सेवन, झैझगडा, पारिवारिक कलह, सामुहिक द्वन्द्वजस्ता गतिविधिमा विशेष नियन्त्रण गर्नु जस्ता कार्यबाट पनि अपराधको नियन्त्रणको प्रयास गर्न सकिन्छ र भइरहेको छ ।

महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक केदार ढकाल आफ्नो कार्य अनुभव र दक्षताका आधारमा अपराध अनुसन्धान र नियन्त्रणको कार्यलाइ निकै संवेदनशील र महत्वपूर्ण मान्नुहुन्छ । अपराध हुने कारणका सम्बन्धमा उनले पारिवारिक परिवेश, आमाबाबुविचको झैझगडा, सामाजिक वातावरण, व्यक्तिमा भयको अहंकार जस्ता तत्व हाबी हुने बताउँछन् । परिवारमा सानोमा बच्चाले गरेको गल्तीलाई आमाबाबुले माफी दिने तर सही र गलतको बारेमा नैतिक ज्ञान नदिएको कारणले पनि मानिस पछि गएर अपराधी बन्न सक्ने सम्भावना रहने ढकालको धारणा छ । मनोविज्ञान मानिसको आन्तरिक अवस्था भएको उल्लेख गर्दै उनी विभिन्न वातावरणीय तत्वले अपराध मनोविज्ञानमा मदत गर्ने बताउँछन् । अपराध अनुसन्धानमा लामो अनुभव भएका उपरीक्षक ढकालले अपराधीलाई विभिन्न सामाजिक कार्यमा सरिक गराई अपराधको पश्चाताप गर्ने वातावरण सिर्जना गर्न सकिने विचार राख्छन् । व्यक्तिको मनोवैज्ञानिक अध्ययनबाट पनि अपराध अनुसन्धानमा सहयोगी भूमिका रहने उनको अनुभव छ ।

तर, त्यो सँगै अपराधको अनुसन्धान र नियन्त्रणका लागि मानिसको मनोवैज्ञानिक कार्य र अवस्थाको अध्ययन पनि अति सान्दर्भिक हुने मनोविद, मनोवैज्ञानिक तथा अपराधशास्त्रीहरुको धारणा छ । मनोविद बिनोद पौडेलका अनुसार मानिसले अरु मानिससँग भएको विभिन्न रिसिबी, बदला, दुस्मनी जस्ता कारणबाट अपराध गर्ने मनस्थिति निर्माण गर्दछ । यस्ता आन्तरिक मनोविज्ञानसँग सम्बन्धित समस्या समयमै निराकरण गर्नुपर्ने र गर्न समेत सकिने पौडेल बताउँछन् ।

व्यक्ति–व्यक्तिविच विगतमा भएको झै–झगडा, रिसिबी, मनमुटाव, बदलाजस्ता अनेकन कारणहरु पछि अपराधमा परिणत भएको देखिन्छ । अपराध गरेको व्यक्तिले के कुन कानुन विपरीत अपराध गरेको हो र सो बमोजिम उसलाइ के कस्तो सजाय हुने हो भन्ने सवाल कानुनी उपचार हो भने, अपराधिले के कुन सोच र कारणले अपराध गरेको हो वा अपराध गर्ने समयमा वा अपराधको योजना बनाउने समयमा उसको मनोवैज्ञानिक अवस्था के कस्तो थियो, भन्ने मनोविज्ञानसँग सम्बन्धित विषय हो । कानुनी निर्णय गर्ने निकायलाई मनोविज्ञानको अध्ययन गरिरहन आवश्यक नपर्न सक्छ । कानुनमा विशेषगरी मनसाय परीक्षण गरिन्छ । मनसाय मनोविज्ञानसँग सम्बन्धित हुन्छ । तर, आवश्यकता अनुसार न्यायिक निकायले व्यक्तिको मनसाय सँगसँगै मनोवैज्ञानिक पक्षको अध्ययन गर्न वा जानकारी लिन पनि सक्दछ ।

अपराध शास्त्रका जानकार प्राध्यापक डा. रजित भक्त प्रधानाङ्गका अनुसार अपराधको विकास परिवार तथा समाजबाटै हुन्छ । किनकी कुनै मानिस जन्मजात अपराधी हुदैन । खराब मानिसको संगत, अर्काको देखासिकी, प्रविधिको दुरुपयोग जस्ता कारणले मानिसले अपराध गर्दछ । वरिष्ठ अधिवक्ता समेत रहेका प्रधानाङ्गका अनुसार, मादक पदार्थ तथा नशालु पदार्थको सेवनबाट मानिसमा आउने उन्मादले पनि विभिन्न अपराधका घटना घट्ने गर्छन् । अपराधको न्यूनिकरणको बिषयमा उनी सरकार र सम्बन्धित निकायले विशेष पहल गर्नुपर्नेमा पनि जोड दिन्छन् । परिवारमा सही के हो ? गलत के हो ? भनेर आमाबाबुले राम्रोसँग नैतिक शिक्षा छोरा छोरीलाई पढाउनु पर्ने प्राध्यापक प्रधानाङ्गको तर्क छ । अपराधाशास्त्रका सम्बन्धमा थुप्रै पुस्तक तथा लेख लेखेका उनले मानिस छिटो धनी बन्न खोज्ने कारणले पनि अपराधमा संलग्न हुने भएकाले कानुनी र जनचेतनामुलक कार्यक्रम निरन्तर आवश्यक रहने उल्लेख गर्छन् । त्यसैगरी, जेल सजाय पुरा गरेको मानिस कता के गर्दैछ भन्ने कुरामा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा प्रधानाङ्गको सुझाव छ । अपराधका यस्ता हरेक चरणमा प्रायः मानिसको मनोवैज्ञानिक पक्ष महत्वपूर्ण हुने तथा मनोवैज्ञानिक पक्ष धेरै तत्वहरुमा आधारित रहने भएकाले मानिसको मनोविज्ञानको अध्ययन पनि अपराध नियन्त्रणमा उत्तिकै आवश्यक रहेको उनको अनुभव छ ।

आवश्यक प्रमाण र कानुनी प्रक्रिया अनुसार न्यायिक चरण पुरा हुन्छ । कानुनी कारवाही आफैमा अपराध नियन्त्रणको कार्य हो । अपराधीले सजाय पाएमा अरु व्यक्ती पनि आपराधिक कार्यमा संलग्न हुदैनन् भन्ने अपराधशास्त्रको मान्यता नै छ । अपराध गरेमा वर्षौं जेल बस्नुपर्ने र राज्यका विभिन्न महत्वपूर्ण पद तथा जिम्मेवारीमा रहन समेत नपाइने हुनाले पनि अपराधको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नियन्त्रण हुने देखिन्छ ।

तर, अपराधीको पत्ता लगाउन नसक्नु, पत्ता लागेपनि सबै अपराधी पत्ता नलाग्नु, प्रमाण नाश हुनु, अनुसन्धानले पूर्णता प्राप्त नगर्नु जस्ता परिस्थितिले समाजमा झनै अपराध बढ्ने सम्भावना पनि रहन्छ । त्यसैगरी, समाजमा बढ्दै गइरहेका जघन्य प्रकृतिका अपराधको एउटा कारण अपराधी पत्ता नलाग्नु पनि हुन सक्ने अनुमान गर्न सकिन्छ ।

अपराधी बाट नै अपराधको नियन्त्रण

अपराधीबाट नै अपराधको नियन्त्रण गर्न सकिने तरिका भिन्नै प्रकृतिको हो । अपराधीले गरेको अपराधको कारणको मनोवैज्ञानिक अध्ययनबाट पनि अपराधको न्यूनिकरण गर्न सकिन्छ । अपराधिबाटै अपराधको न्युनिकरण गर्न सकिनेमा मनोविद तथा अपराधशास्त्रीहरु विचार राख्दछन । अपराधीले अपराधको योजना बनाउँदा वा अपराधको खास कारण शुरु हुँदा के कस्तो घटना घटेको थियो भन्ने बिषय यसमा सान्दर्भिक हुन्छ ।

मनोविदहरुका अनुसार कसैले कसैलाई कर्तव्य गरी ज्यान लिएमा उसले त्यसरी अरुको ज्यान लिनुको खास कारण मनोविज्ञानसँग पनि सम्बन्धित हुन्छ । त्यस्तो कार्य गर्नका निम्ति कहिले के कुन कारणबाट योजना शुरु भएको हो वा सोच आएको हो भन्ने विषयको अध्ययन आवश्यक छ ।
उदाहरणका लागि प्रायः ज्यान लिने मान्छेमा अर्को व्यक्तीप्रतिको पुरानो रिसिबी, असन्तुष्टि, पीडित भएको अवस्था, बदला, जस्ता मनोवैज्ञानिक कारण रहेको हुन्छ र त्यस्तो कुराको पहिला नै पहिचान गर्नसके अपराध रोकथाम गर्न सकिने सम्भावना हुन्छ । अथवा कसैको कसैसँग यस्तो प्रकारको व्यवहार भएको छ भने सो व्यक्तिलाई आवश्यक मनोपरामर्श वा परामर्श गर्न सकेमा अपराधको मूल जरो नै अन्त्य गर्न मदत पुग्दछ ।

केही अपराध अनुसन्धान अधिकारिको अनुभव लिने हो भने पनि व्यक्तिहरुमा पुरानो बदला, रिसिबी, असतुष्टि, एक अर्काविचको गलत बुझाई, अर्काको प्रगति र आफ्नो प्रगति हुन नसक्नु जस्ता आन्तरिक मनोभावनाका समस्याले अपराध सिर्जना भएको पाइन्छ । यस्ता समस्या रोकथाम गर्न र ब्व्क्तिलाई चेतनशील बनाउन सरकार, स्थानीय तह तथा सम्बन्धित निकायले रणनीतिक तवरले काम गर्नु आवश्यक देखिन्छ । अर्कोतर्फ अपराध गरिसकेका अपराधीहरुसँग मनोवैज्ञानिक तवरबाट प्रश्न सोधी, छलफल गरी, कुराकानी गरी वा आवश्यक विधी प्रयोग गरी अपराध गर्नुको खास मनोवैज्ञानिक कारण पत्ता लागाई त्यस्ता कारणहरुको बिषयमा सरकार वा सम्बन्धित निकायले आवश्यक कार्य गर्न सक्दछ । उदाहरणका लागी जबरजस्ती करणी गर्ने ५० जनाबीच अध्ययन गर्ने र उनिहरुले त्यस्तो गर्नुको कारण के रहेछ भन्ने उपयुुक्त तवरबाट पत्ता लगाउने अनि विशेषगरी धेरै जनासँग मिल्दोजुल्दो कारणलाई सामाजिक रुपमा जनचेतना वा अन्य कार्यक्रम बाट नियन्त्रणका लागि आवश्यक कार्य गर्ने जसबाट अपराध न्यूनिकरणमा मदत पुग्दछ । यसरी गरिएको अध्ययनबाट अपराधिक मनोवृत्तिको पहिचान हुने र त्यस्तो मनोवृत्तिको उपचार गर्न सके अपराध समेत रोक्न सकिने मनोवैज्ञानिकहरुको सुझाव छ ।

मनोविज्ञान मानिसको मनस्थिति र व्यवहार अध्ययन गर्ने विज्ञान भएकाले पनि अपराध अनुसन्धानमा मनोविज्ञानले भूमिका खेल्ने देखिन्छ । अपराधमा संलग्न रहेका व्यक्तिको शारीरिक अवस्था, फेसलुक, हाउभाउ, बोल्ने शैली जस्ता प्रस्तुतिले अनुसन्धानमा मदत गर्ने भएकाले पनि मनोविज्ञानको भूमिका उल्लेख्य रहन्छ । मानिसले झुट बोले नबोलेको पत्ता लगाउन पनि मनोवैज्ञानिक पद्दती सहयोगी बन्न सक्दछ । निर्दोष व्यक्ति पहिचान गर्न पनि उसको व्यवहार, वास्तविकता, आत्तिने, डराउने जस्ता अवस्थाले पनि टेवा पुग्दछ । कस्तो प्रकारको यक्ति कस्तो काम गर्न सक्छ भन्ने व्यवहारको अध्ययनबाट पनि अपराधको अनुसन्धानमा सहजता पुग्दछ ।

अबको समयमा अपराधको कानुनी उपचार मात्र नभएर मनोवैज्ञानिक उपचार पनि हुनु आवश्यक छ । नेपालमा अपत्यारिला र अति निर्मम प्रकृतिका अपराध बढ्दो क्रममा देखिन थालेका छन् । आफ्नै घरको सदस्यले आफ्नैै घरका सदस्यको निर्मम हत्या गर्नु, परिवार र हाडनाताभित्रै जबरजस्ती करणीका घटना बढ्नु, सङ्गठित तवरका अपराध बढ्नु जस्ता अपराधको मनोवैज्ञानिक तवरले पनि अध्ययन, अनुसन्धान गर्नु जरुरी छ । त्यस्ता अपराध दोहोरिन नदिनका लागी मनोवैज्ञानिक तथा मनोपरामर्श विधिको प्रयोग भएमा पनि अपराधको नियन्त्रण हुन सक्दछ । साथै अनुसन्धान पश्चात अपराधको खास कारणका लागि कारागार पुगेर अध्ययन अनुसन्धान गरि अपराधको सुरुवाती जड पत्ता लगाई अपराध नियन्त्रणका लागि सरकार, प्रहरी वा सम्बन्धित निकायले उपयुक्त पहल र प्रयास गर्नै पर्छ । अपराधी पत्ता लागेर अदालतले कारवाही तोकि सकेपछी र सो कार्यान्वयन भएसँगै कानुनी प्रक्रिया टुङ्गिएपनि अपराध न्यूनिकरणको बाटोका लागि पहल निरन्तर नै हुनुपर्दछ ।

न्यायिक निकाय बाट अपराधमा न्यायिक प्रक्रिया सकिएपनि अपराध नियन्त्रणको सबै प्रक्रिया सकियो भन्न सकिँदैन । न्यायिक प्रक्रिया सकिने बित्तिकै चुप लागेर बस्न नमिल्ने स्थिति पछिल्लो समय सिर्जित भएको पाइन्छ । जुन अपराध भएको हो त्यो अपराध के भएको भय हुदैनथ्यो वा के गरेको भय कम क्षति हुन्थ्यो भन्ने विषय महत्वपुर्ण रहन्छ । त्यसैले अपराधको मनोवैज्ञानिक कारण बमोजिम मनोपरामर्श, मनोशिक्षा वा अन्य परामर्श एवं तरिका पहलबाट अपराधको नियन्त्रण वा रोकथाम गर्नु पर्दछ । सँगै समयमै र पूर्ण रुपमा अपराधको अनुसन्धान गर्न व्यक्तिको मनोवैज्ञानिक पक्षको समेत अध्ययन अबको समयमा अझ सशक्त रुपमा गरिनुपर्दछ । समय, अपराधको स्थिति, परिस्थिति र प्रविधिले सिर्जना गरेको परिणामको कारणले गर्दा अपराध अनुसन्धान र नियन्त्रणमा मनोविज्ञानको अहम र अनिवार्य भूमिका रहन्छ ।

लेखक कानुन र मनोविज्ञानका विद्यार्थी हुन् ।

लेखककाे यसअघि प्रकाशित लेखः

आफ्नो हैन छोराछोरीको ईच्छा अनुसार पढाउनुस्

प्रतिक्रिया दिनुहोस
संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र

नेपाली सेनाद्वारा शान्ति सेना को भत्ता ८५ अमेरिकी डलरले वृद्धि

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’काे कथा

बागलुङ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो ।

आहा ! लेकाली क्षेत्रमा कस्तो लोभलाग्दो कमाइ

फिक्कल । हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले