पुरा भएन लुम्बिनी गुरुयोजना


प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १५:१६

कपिलबस्तु । बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना केन्जो टाङ्गेले १९७८ मा तयार पारेको गुरुयोजनाले कल्पना गरे अनुसार लुम्बिनी सुन्दर र भव्य देखिएको छैन ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन ४१ वर्षअघि जापानी वास्तुकलाविद् प्रो. केन्जो टाङ्गेले ६ वर्ष लगाएर गुरुयोजना बनाउनुभएको थियो । तत्कालीन लुम्बिनी विकास समितिले सन् १९७८ मा गुरुयोजना स्वीकृत गरेर कार्यान्वयन थालेको थियो । गुरुयोजना लागू भएको ४१ वर्षपछि लुम्बिनी विकास कोष त्यसको कार्यान्वयनमा जुटेको छ । कोषका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताअघि पदाधिकारीसँगको भेटमा दुई वर्ष भित्र गुरुयोजनाका बाँकी काम पूरा गर्न निर्देशन दिनुभएको थियो । प्रदेश र संघीय सरकारले कार्यान्वयनका लागि दबाब दिँदै आवश्यक सहयोगको वचन दिइरहेका छन । एक वर्षअघि सञ्चालित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका बेला तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले तीन वर्षभित्र गुरुयोजनाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसपछि कोषले परामर्शदाता चयनको प्रक्रिया थालेको हो ।

कोषले आगामी ३३ महिनामा बाँकी काम पूरा गर्ने गरी काम भइरहेको जनाएको छ  । त्यसका लागि परामर्शदाता नियुक्ति अन्तिम चरणमा छ  । बाँकी काम सक्न ६ अर्ब रुपैयाँ खर्च लाग्ने उसको भनाइ छ  । लुम्बिनीमा विश्व भरिबाट श्रद्धालु आउने क्रम बढेको र यसैलाई लक्ष्य गरी अन्तर्राष्ट्रिय विमानस्थललगायत पर्यटकीय पूर्वाधार निर्माण भइरहेकाले स्थानीय सरोकारवाला, प्रदेश सरकार र बौद्ध धर्मावलम्बीले काम छिटो सक्न दबाब दिइरहेका छन । संघीय सरकारले पटकपटक दबाब र सहयोगको वचन दिएपछि कोष गुरुयोजना पूरा गर्न लागिपरेको हो  । ३३ महिनाभित्र गुरुयोजना पूरा भइ छाड्ने कोषको दाबी छ  ।

गुरुयोजना अन्तर्गत बाँकी कामको विस्तृत डिजाइन, निर्माण लागत अनुमान र सुपरिवेक्षणका लागि कोषले ५ महिनादेखि परामर्शदाता छनोटको काम गरिरहेको छ  । दुई साताभित्र परामर्शदाता नियुक्त भइसक्ने कोषले बताएको छ  । परामर्शदाताका लागि सुरुमा विभिन्न १७ कम्पनीले आवेदन दिएका थिए  । त्यसबाट ७ छानिएका छन  । स्पेन र सिंगापुरका २ र नेपालका ५ वटा कम्पनी प्रतिस्पर्धामा रहेको कोषले जानकारी दिएको छ  ।

परामर्शदाता नियुक्तिपछि उक्त कम्पनीले आगामी ५ महिनाभित्र गुरुयोजनाका बाँकी कामको डिजाइन र लागत अनुमान तयार गर्नेछ  । ठेक्काको कामका लागि आवश्यक टेन्डर डकुमेन्ट बनाउने र सम्झौता गर्न सहजीकरण गर्नेछ  । ठेक्काको काम सकिएपछि परामर्शदाताले २४ महिनाभित्र हुने निर्माण कार्यको सुपरिवेक्षण हुनेछ  ।

चालु आर्थिक वर्षमा सरकारले कोषलाई १ अर्ब रुपैयाँ उपलब्ध गराउनेछ  । ‘अब टेन्डर निकाल्छौं,’ कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भन्नुभयो, ‘र काम थाल्छौं  ।’ त्यसपछि सरकारले बर्षेनि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ  । ‘केही न केही रकम आउँछ,’ उहाँले भन्नुभयो, ‘ठेक्का लागिसकेपछि दाता गुहार्न पनि सजिलो हुन्छ  । सकभर मुलुककै लगानीमा योजना पूरा गर्छौं, नभए मात्र अन्तर्राष्ट्रिय रूपमा सहयोग आह्वान गर्छौं  । यस अवधिमा ५ करोड रुपैयाँ डिजाइन, लागत इस्टिमेट र १२ करोड रुपैयाँ सुपरिवेक्षणमा खर्च हुनेछ । निर्माण, कार्यान्वयन र अनुगमन गर्न विज्ञ र प्रावि धिकको जम्बो टोली खटिनेछन । विभिन्न चरणमा करिब ८० जना प्राविधिक संलग्न हुनेछन  । मेकानिकल, इलेक्ट्रिकल र क्वालिटी, आईटी इन्जिनियर, हाइड्रोलोजिस्ट र स्ट्रक्चर आर्किटेक्ट छन । वातावरणविद् र जियोटेक्स विज्ञ पनि हुनेछन  । सहरी, पुरातत्त्व र एचबीएसी विज्ञलगायत प्राविधिक हुने कोषले जानकारी गराएको छ  ।

बाँकी कामहरु के–के छन ?

प्रोफेसर टांगेले गुरुयोजनामा लुम्बिनी क्षेत्रलाई तीन भागमा विभाजन गर्नुभएको छ । मायादेवी मन्दिर रहेको क्षेत्र वरिपरिको भागलाई पवित्र उद्यान बनाउने उनको कल्पना छ  । उद्यान क्षेत्र वरपर पोखरी छन । कोषले उद्यानसँग सम्बन्धित धेरै काम गरेको छ  । पूर्वाधार तयार भए पनि तिनलाई आकर्षक तुल्याउन बाँकी छ  । गुरुयोजनाअनुसार ४ पोखरी, विश्व सम्पदास्थल वरिपरिका ८० वर्ग्मिटर र केही साना ठाउँमा हरियाली उद्यान बनाउने प्रारम्भिक चरणका काम सकिएका छन् ।
पूर्वतिर श्रीलंका, म्यानमार, थाइल्यान्ड र कम्बोडियालगायका मुलुकका विहार छन । पश्चिमतिर चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडालगायत मुलुकका विहार निर्माण भएका छन  । त्यसपछि प्रशासनिक क्षेत्र छ  । त्यहाँ विभिन्न प्रयोजनका लागि एक दर्जन हाराहारीमा भवन निर्माण गर्ने उल्लेख छ ।

कोषको प्रशासनिक र सूचना केन्द्रलगायत केही भवन तयार भइसकेका छन । केही निर्माणको चरणमा छन  । अहिलेसम्मको निर्माणका आधारमा कोषले गुरुयोजनाका ८२ प्रतिशत काम पूरा भएको दाबी गरेको छ  । तर त्यसको वैज्ञानिक आधार देखिँदैन । व्यक्तिपिच्छे फरक दाबी सुनिन्छ  । ‘स्वतन्त्र विज्ञबाट अध्ययन नगराउँदासम्म यति नै काम पूरा भए भनेर भन्न सक्ने आधार छैन । उक्त क्षेत्रमा उत्थान्त अडिटोरियम हल र वाटर टावर निर्माण तथा वितरणको काम बाँकी छ  । दुईतले गोलो आकारका ६ वटा भवन निर्माण गर्न बाँकी छ  । विद्युतीकरण पनि बाँकी छ  । सञ्चार, कालोपत्रे र सर्भिस रोडका काम बाँकी छन  । ढल निकास तथा स्युरेज व्यवस्थापन हुन सकेको छैन  । पोखरी निर्माण तथा सुन्दरीकरणको काम अघि बढेको छैन  । ३ वटा खोला व्यवस्थापन काम बाँकी छ  । कर्मचारी आवास भवन निर्माण भएको छैन  । प्राथमिक उपचार केन्द्र, सोभिनियर सप पनि छैनन्  । हाईस्कुल र रेस्टुरेन्ट पनि बनेका छैनन्  ।

लुम्बिनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बांकी रहे पनि यस्ता काममा धेरै रकम खर्च हुने भएकाले सरकारले पर्याप्त बजेट पठाए लुम्बिनी गुरु योजना पुरा गर्न सकिने कोषले बताएको छ । लुम्बिनीको विकासमा अन्तरराष्ट्रिय संस्थाहरु कोइका, यूनेस्को, यूएनडिपी, एडिवी, डब्लु डब्लु एफ लगायतले सहयोग गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको चर्चा बढ्दै गएको र बार्षिक १० लाख पर्यटक भित्रयाउन सकिने सम्भावना रहेको भन्दै सरकारले ग्रेटर लुम्बिनीको परिकल्पना गर्दै विस्तृत पर्यटन योजना बनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
भ्रमण वर्षलक्षित सहकारीको अभियान

काठमाडौं । नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष-२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम

प्रतिकूल मौसमका कारण खुम्बुका पर्यटक अन्नपूर्णतर्फ

साेलुखुम्बु । खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन

कपडामा झुण्डिने र माग्नेले पर्यटक आजित

कास्की । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै