तिजको दरमा प्रशासनको खटन : पुरुषवादी मनोवृत्तिको उपज कि संस्कृतिको जर्गेना ?

appharu
0
Shares

काठमाण्डौं । काभ्रे, धादिङ, रूपन्देही, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेसमा दर खाने कार्यक्रम नगर्न सूचना जारी गरे । स्थानीय प्रशासनले तिजको दर कहाँ र कति खाने भनेर खटनपटन गर्न थाले लगतै यसमा बहस सुरु भएको छ ।

तडक–भडकसहित भड्किलो कार्यक्रममाथि नियन्त्रण गर्न आवश्यक भएको तथा महिलालाई अझै पनि नियन्त्रणमा नै राखिरहनुपर्छ भन्ने मानसिकताको उपज दुई प्रकारका तर्क अहिले आएका छन् । लाग्छ यि दुवै तर्क सान्दर्भिक छन् ।

पुरुषवादी मनोबृत्तिको उपज
यस्ता प्रकारका स्थानीय प्रशासनको उर्दीले महिलालाई अझै पनि नियन्त्रणमा नै राखिरहनुपर्छ भन्ने पुरुषवादी सोचको उपज भएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।

तिज भन्नेबित्तिकै महिलाहरु स्वतन्त्र भएर नाचगान गर्ने, दुखसुःख साटासाट गर्ने हाम्रो परम्परा हो । परम्परा भुल्न खोजेको भन्ने हुँदैहोईन । बरु फुर्सद निकालेर केही दिन अघिदेखि नै रमाइलो गर्न लागिएको उनीहरुको तर्क छ ।

प्रशासनको प्रष्टोक्ति
सम्बन्धित पर्वका दिनमा पर्व मनाए त्यसको सान्दर्भिकता र मौलिकता झल्कने, एक महिना अघिदेखि मनाउनुको औचित्य नभएको, चाडपर्व आउनुभन्दा एक डेढ महिनादेखि नै तडकभडक देखाउने प्रवृत्ति हाम्रा सांस्कृतिक परम्परा, रीतिरिवाजमाथिकै हमला भएको, सार्वजनिक गरेको सूचना नियन्त्रणभन्दा पनि सांस्कृतिक परम्परा र रीतिरिवाज जोगाउन भएको जिल्ला प्रशासन कार्यालयहरुको तर्क छ ।

समूहमा मिलेर पार्टी प्यालेस तथा होटलहरुमा भव्य कार्यक्रम गरेर एक महिना अघिदेखि नै तिजको दर खानुले राख्ने अर्थबारे फरक बहस हुन जरुरी छ ।

तिजको दर चेलीलाई दाजुभाइ तथा माइतीले घरमा बोलाएर खुवाउने परम्परामात्रै रहनुपर्छ भन्ने पनि हैन । तर यसको सार्थकताका विषयमा बुझ्नु पर्दछ ।

व्यवसायीको आपत्ति
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले स्थानीय प्रशासनले आफूहरुको व्यापारमा अवरोध पुर्याउने गरी जारी गरेको सर्कुलर फिर्ता लिन माग गरेका छन् ।

स्थानीय प्रशासनले निर्णय फिर्ता नलिए अबदेखि राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसहरुमा गर्न नदिने व्यवसायीले चेतावनी दिएका छन् ।

न्यूनतम मापदण्ड पालना गरेरै व्यवसाय गरिरहेका बेला स्थानीय प्रशासनको सर्कुलरले मर्माहत बनाएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले जनाएको छ ।

अन्त्यमा
२०६३ सालतिर गायिका कोमल वलीले पोइल जान पाउ बोलको गीत बजारमा आउँदा यसको निकै आलोचना भयो । आलोचनाका बावजुत गीतले निकै चर्चा पायो ।

गायिका वलीले पछिल्ला वर्षहरुमा पनि त्यस्तै प्रकारका गीतहरु बजारमा प्रस्तुत गर्नुभयो । त्यसतिबेला समाजलाई पाच्य छैन भनिएको गीत त्यहि समाजले रुचायो । अहिले पोइल जान पाउ भन्दा पनि धेरै माथिका गीतसंगित आएका गायिका वलीको बुझाई छ ।

तिज गीतसंगितमा पुरुष कलाकारहरुको आगमन भएको त्यो पनि मान्य भएकै छ । अनि महिलाहरुले तिजको केहि दिन अघि दर खानु कसरी गलत हुन्छ ? प्रशासनले प्रतिबन्ध नै लगाउनु किन प-यो ? पुरुषबादी मनोवृत्ति कै उपज हो त ? लगायतका प्रश्नको उत्तर भेटिए जस्तो लाग्दैन । त्यो उत्तरले अहिलेको विषयलाई मत्थर पार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?