एनसेल लाभकर विवादमा अझै फैसला हुन सकेन

काठमाडौं । एनसेल लाभकर विवादमा दोस्रोपटक पनि फैसला मिति सरेको छ । बिहीबारका लागि तोकिएको फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै आगमी बिहीबारका लागि सारिएको हो ।

यसअघि, साउन २१ गते तोकिएको फैसला मिति पनि सारिएको थियो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा छ । एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत्पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो ।

फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । जसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले सरकारलाई बुझाउन बाँकी छ । तर, उसले साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?