यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

काठमाडौं । सर्वाधिक चासोमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४ प्रतिशत सम्पन्न भईसकेको छ ।

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको थियो । यध्यपी ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामाग्रीको अभाव जस्ता कारणले आयोजना पछि धकेलिएको थियो ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले भौतिक संरचना निर्माण को जिम्मा पाएको छ ।

सन् २०१९ को डिसेम्बर अर्थात २०७६ पुस १५ सम्ममा आयोजना सम्पन्न हुने आयोजना प्रमुखको भनाई छ ।

विमानस्थलको धावनमार्गको कार्य सम्पन्न भईसकेको छ । धावनमार्गको लम्बाइ तीन किलोमिटर छ र धावनमार्ग ४ तह गरि प्रत्यक तह साढे सात सेन्टिमिटर बाक्लो रहेको छ ।

अहिले विमानस्थलमा टर्मिनल भवन, पानी ट्यांकी, कन्ट्रोल टावरलगायत काम धमाधाम भइरहेको छ । टर्मिनल भवनको छाना हाल्न बाँकी छ । त्यस्तै टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा छ । विद्युतीय जडान र अन्य काम पनि भइरहेको छ ।

सात तलाको कन्ट्रोल टावर निर्माणको अन्तिम चरणमा छ । फिनिसिङ तथा उडान, अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । विमान पार्किङस्थल (एप्रोन) को काम पूरा भइसकेको छ। विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया लगानीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्नेछ ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सबै जहाज यहाँ पनि अवतरण गर्न सक्छन् । यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने हो । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले ‘ह्यान्डल’ गर्नेछ ।

हेर्नुहोस् लोकपथको लेन्समा जे देखियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?