राष्ट्रिय सभा बैठक: संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा छलफल

काठमाडौं । संघीय संसदको राष्ट्रियसभाले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश ३ संग छलफल गरेको छ ।

विधेयकमा सक्दो सहमति जुटाउने उद्देश्य साथ राष्ट्रियसभाले संघीय संसद, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउपालिकाका जनप्रतिनिधिसंग संयुक्त छलफल गरेको हो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तमा आधारित संघीयता भएकाले सिद्धान्तको पालनाको साथै ऐनको सफल कार्यान्वनयका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरुको सहमति आवश्यक पर्ने बताउनुभयो ।

उहाँले संविधानको भावना अनुसार साझा सूचीलाई व्यवस्थित र परिभाषित गरी संविधानको भावना अनुसार सबै नागरिकले अधिकारको प्रयोग गर्न सक्ने बनाउनका लागि साझा छलफल आवश्यक भएको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय तहले हरेक अधिकारलाई आफु मातहत राख्न चाहनु अस्वभाविक नभएको भन्दै उहाँले सबैका चाहानाबाट साझा सहमति खोज्न प्रदेशस्तरीय छलफल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वृहत छलफल गरेर लामो समयसम्म संसोधन गर्न नपर्ने गरि विधेयकलाई अन्तिम रुप दिने कार्यमा सबैले सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विधेयकले गरेको व्यवस्था बारे विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रियसभाले विधेयकमाथि अधिकतम सहमति जुटाउने प्रयासमा सबै प्रदेशमा छलफल गरेको छ ।

७ वटै प्रदेशबाट आएका सुझावका आधारमा विधेयकमा संसोधन गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?