१३ वर्षीय बालिकाले बलात्कारीलाई खुकुरी हानिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’

काठमाडौं । झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्।

झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन्।

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो ।

घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका माैका छाेपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ ।

खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको थिए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।’ पटक-पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनकाे भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?