वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

काठमाडौं, १८ पुस- कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?