२५ वर्षे ‘दारी बा’: सरकारी जागिर छाडेर चिया व्यवसायमा

जोसँग हजार प्रश्नको एउटै उत्तर छ

काठमाडौं । आजका युवा १० बजेदेखि ५ बजेसम्म एउटा डेस्कमा बसेर घोटिन मनपराउँदैनन् । कसैकोमा जागिर खाएर टन्न पैसा कमाउनुभन्दा आफ्नै व्यवसायबाट भएको सानो आम्दानीमा रमाउँछन् । आफ्नो सपनालाई पछ्याउँदा समाजले के भन्ला भन्ने कुराको खासै वास्ता गर्दैनन् । आजका युवा परिवर्तन चाहन्छन् र आफूले चाहेको परिवर्तनको शुरुवात आफैबाट गर्न चाहन्छन् । यसैको उदाहरण हो दारी बाको खाजा घर । केही उपाय नहुनेले वा पढ्न लेख्न नजान्नेले मात्रै यस किसिमको व्यवसाय गर्नुपर्छ भन्ने चलिआएको मानसिकतालाई तोड्दै एकजना इन्जिनियरले सञ्चालन गरिरहेका छन् यस खाजा घरलाई ।

पुरानो बानेश्वर चोकमा अवस्थित यस खाजा घरका संस्थापक प्रवीण थापा पेशाले इन्जिनियर हुन् । प्रवीणले केही वर्ष प्राइभेट र सरकारी जागिर खाएपछि मात्रै आफू व्यवसायी बन्नलाई जन्मिएको अनुभूति गरे । अर्काको मातहतमा रहेर खुम्चनुभन्दा बरु आफ्नै सानो कोठाको घेराभित्र स्वतन्त्र फैलिने उद्देश्यले उनले सरकारी जागिर छाडेर आफ्नै कोठाबाट मम डेलिभर गर्ने योजना बुने । त्यही कोठाबाट शुरु भएको व्यवसायलाई आज नयाँ स्वरुप दिएका छन् उनले ‘दारी बाबको खाजा घर’का रुपमा ।

२५ वर्षीय प्रवीण स्वभावले पनि एकदमै फुर्तिलो र हँसिलो छन् । पसलमा ४ जना कर्मचारी भएपनि उनलाई उनीहरु जतिकै खट्न पटक्कै अप्ठेरो लाग्दैन । पकाउने, अतिथिलाई स्वागत गर्ने, सर्भ गर्ने सबै काममा प्रवीण उतिकै सक्रिय देखिन्छन् । यहीकारणले गर्दा पनि होला व्यवसाय सञ्चालन गरेको ३ महिना नपुग्दै दिनको १० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् उनी । ४ जना कर्मचारीबाट शुरु गरेको यस व्यवसायमार्फत् ४०० जनालाई रोजगारी दिने प्रवीणको सपना छ ।

त्यसो त भवन, पुल बनाउनको साटो चिया बनाउने ? भन्ने जस्ता प्रश्नहरुले नलखट्ने होइन प्रवीणलाई । तर, त्यस्ता प्रश्नको पत्थर फ्याल्नेलाई उनी मुस्कानको फूल दिँदै उत्तर फर्काउँछन् । कुनै काम ठूलोसानो हुँदैन र आफ्नो मनको बाटोमा हिँड्दा जसले जे भनेपनि खासै फरक पर्दैन भन्ने कुरा बुझेर नै होला शायद । विदेश नजाने इच्छा, आफ्नै पौरखमा केही गर्ने चाहना र जागिर खानेभन्दा जागिर दिने सपनाले प्रवीणलाई आज सफल व्यवसायी बनाएको छ । अवसरको खोजीमा भौतारिने युवाका निमित्त आफ्नो माटोमा आफैले अवसर फूलाएका प्रवीणको जीवन प्रेरणादायी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?