फर्केर हेर्दा सन् २०१७ : जुन घटनाक्रमले संसारको ध्यान तानिरहे

काठमाडौं, १७ पुस । वर्ष सन् २०१७ विश्वको राजनीतिक, आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा भएको केही महत्वपूर्ण परिघटनाका कारण चर्चित हुन पुग्यो । सन् २०१७ को सुरुवातमा विश्वकै शक्तिशाली मुलुक अमेरिकाले नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पलाई पायो । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन, उत्तर कोरियाको परमाणु कार्यक्रम, जिम्बाबेमा ३७ वर्ष लामो रोबर्ट मुगाबेको शासनको अन्त्य, म्यानमारको रोहिंग्या संकट, भारत र चीनबीचको डोकलाम विवाद, बेलायती महारानीसहित विश्वका धनी र शक्तिशाली व्यक्तिको सम्पत्तिबारे प्याराडाइज पेपर्सको खुलासा, कतारमाथिको नाकाबन्दी, इरान र साउदी तनाव, स्पेनबाट अलग हुने क्याटालोनियाको निर्णयपछि उत्पन्न संकट र चरमपन्थी आतंकवादी संगठन आईएसविरुद्ध इराक र सिरियामा भएको निर्णायक सैनिक कारबाही तथा जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी राष्ट्रपति ट्रम्पको विवादास्पद निर्णयलगायतका परिघटनाले सन् २०१७ मा विश्वको ध्यान तान्यो ट्रम्पको विवादास्पद निर्णयको वर्षडोनाल्ड ट्रम्पले अमेरिको ४५ औं राष्ट्रपतिको रुपमा आफ्नो कार्यकालको सुरुवात गरेदेखि नै विवादास्पद निर्णयहरु गर्ने क्रमको सुरुवात भयो । ह्वाइट हाउस प्रवेश गरेको पहिलो सातामा नै ट्रम्पले सीमा सुरक्षा सम्बन्धि दुई आदेशमा हस्ताक्षर गरे । जसमा छिमेकी मुलुक मेक्सिकोसँगको सीमानामा दुई हजार माईलभन्दा लामो र बलियो र लामो पर्खाल निर्माण गर्ने र १० हजार आप्रवासन अधिकारीहरु नियुक्त गर्ने आदेश थिए । यद्यपि सिमानामा पर्खाल लगाउने उनको योजना अलपत्र अवस्थामा छ यसैगरी जनवरीको अन्तिम साता उनले दुई विवादित पाइपलाइन किस्टोन एक्सएल र डकोटा एक्सेस निर्माण सम्बन्धि दुई कार्यकारी आदेशमा पनि हस्ताक्षर गरे । क्यानडाबाट अमेरिकी तटसम्म तेल लैजाने पाइपलाईन किस्टोन एक्सेसको निर्माणमाथि तत्कालीन राष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनमा बढावा मिल्ने भन्दै २०१५ मा रोक लगाएका थिए –अमेरिका यसैबर्षबाट ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) बाट बाहिरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेको टीपीपीलाई कंग्रेसले स्वीकृति दिएको थिएन । यो सम्झौतामा विश्वको ४० प्रतिशत अर्थतन्त्र ओगटेका र अन्तर्राष्ट्रिय व्यापारलाई प्रभावित पार्ने १२ वटा देश सहभागी छन् –सन् २०१६ को नोभेम्बर ८ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेप भएको र हिलारी क्लिन्टनलाई हराउन र डोनाल्ड ट्रम्पलाई जिताएको विषयले यो वर्षभरी नै चर्चा पायो । रुसले अमेरिकी चुनाव प्रभावित पारेको विषयमा हालसम्म पनि अमेरिकी गुप्तचर एजेन्सीले छानविन गरिरहेको छ –अमेरिकाले ट्रम्पको अगुवाईमा विभिन्न मुस्लिम राष्ट्रका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ । सुरुमा अमेरिकी अदालतले यसविरुद्ध फैसला गरेपनि केही समयअघि पुनः त्यसलाई जायज ठहर गरेको छ । सो निर्णयअनुसार इरान, यमन, सिरिया, सोमालिया, सुडान र लिबियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । यो प्रतिबन्धको विरोधमा अमेरिका भित्र र बाहिर समेत ठूलो विरोधको अवस्था सिर्जना भएको थियो –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ६ मा जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरे । जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा स्वीकार गर्न वास्तविकतालाई स्वीकार गर्नु भएको उनको दाबी थियो यसलाई इजरायलले स्वागत गरेपनि विश्वभर यसको विरोध भयो । ट्रम्पको यो विवादास्पद निर्णयलाई उसकै सहयोगी राष्ट्रले समेत अस्वीकार गरे । सन् १९६७ मा भएको ६ दिने युद्धपछि इजरायलले आफ्नो नियन्त्रणमा लिएको पूर्वी जेरुसेलम र वेस्ट ब्याङ्कसहितको सम्पूर्ण जेरुसेलमलाई इजरायलको राजधानी मान्ने ट्रम्पको घोषणा राष्ट्र संघले असफल पारेको छ भने प्यालेस्टाइनले पूर्वी जेरुसेलमलाई आफ्नो भविष्यको राजधानी भएको बताउँदै आएको छ यो मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ मा मतदान हुँदा अमेरिकाको निर्णयका पक्षमा ९ वटा राष्ट्र उभिए भने १ सय २८ राष्ट्रले विपक्षमा मतदान गरे । मतदानको समयमा ३५ वटा राष्ट्र भने सहभागी भएनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मतदानमा आफ्नो विपक्षमा उभिने राष्ट्रलाई आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका थिए । त्यसको सुरुवात अमेरिकाले राष्ट्र संघलाई दिँदै आएको बजेटमा कटौती गरेर सुरु गरिसकेको छ । यद्यपि अमेरिका पहिलो पटक आफ्नो निर्णयमा विश्व समुदायबाट एक्लिन पुग्यो –ट्रम्पको नेतृत्वमा रहेको अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ । अमेरिका यो सम्झौताबाट बाहिरिएको एकमात्र राष्ट्र हो । सम्झौताबाट बाहिर रहेको निकारागुवाले गत सेप्टेम्बरमा र सिरियाले नोभेम्बरमा सम्झौतामा सहमति जनाएपछि अमेरिका पेरिस सम्झौताको विरुद्धमा रहेको एक्लो राष्ट्र हो । ट्रम्पले गत १ जुनमा यो सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए –जिम्बाबेको स्वतन्त्रता संघर्षमा महत्वपूर्ण भूमिका खेलेका उपराष्ट्रपति इमर्सन मानागाग्वालाई हटाएर राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नै श्रीमती ग्रेसी मुगाबेलाई सत्ता सुम्पने तयारी गरेपछि नोभेम्बर १७ मा जिम्बाबेको सेनाले सन् १९८० मा स्वतन्त्र भएदेखि देशको नेतृत्व गर्दै आएका राष्ट्रपति रोबर्ट मुगाबेको सत्ता हातमा लियो । सेनाको नियन्त्रणमा रहेका ९३ वर्षीया मुगाबे अन्ततः सत्ता छाडेर आफैले बर्खास्त गरेका उपराष्ट्रपति इमर्सन मानागाग्वालाई सत्ता सुम्पन तयार भए –सन् २०१७ मा सबैभन्दा चर्चामा रहेको विषयमध्ये म्यानमारको राखिने राज्यमा रहेका रोहिंग्या मुस्लिम समुदायमाथिको बर्बतापूर्ण अत्याचार पनि एक हो । सन् २०१७ भरी नै रोहिंग्या संकटबारे बहस र विवाद उत्पन्न भएपनि गत अगस्तको अन्तिम साता त्यहाँको लडाकु समूहले प्रहरीचौकीमा आक्रमण गरी १२ जना प्रहरीको हत्या गरेपछि सेनाले रोहिंग्या मुस्लिमविरुद्ध भिषण कारबाही चलायो । यस क्रममा हजारौं रोहिंग्या मारिए भने लाखौं विस्थावित हुन पुगे । जुन घटनालाई राष्ट्रसंघले समेत जातीय सफायाका रुपमा देखिएको बताएको छ म्यानमार सरकारले रोहिंग्या मुस्लिममाथि अत्याचार नगरेको दाबी गरिरहँदा अगस्टदेखि भएको सैनिक कारबाहीको पहिलो महिनामा नै ४ हजारभन्दा बढी मारिएको, हजारौं घाइते बनाइएको, रोहिंग्या बस्तीमा आगो लगाएको, महिलामाथि बलात्कारजस्ता घटनाले त्यहाँको अवस्था दर्दनाक भएको पुष्टि गर्दछ । रोहिंग्या मुस्लिममाथिको सेनाको कारबाहीमा समेत मौन बसेकोमा त्यहाँकी प्रजातन्त्रवादी नेतृ तथा विदेशमन्त्री आङ सान सुकीको चर्को आलोचनाका साथै उनलाई दिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने सम्मका आवाज उठे । म्यानमारको राखिने राज्यबाट विस्थापित भएर सीमा पार गरी आएका ६ लाख २० हजारभन्दा बढी रोहिंग्या मुस्लिमहरु शरणार्थीका रुपमा बंगलादेशको कोक्सबजारमा शिविरमा बसिरहेका छन् –सन् २०१७ को अक्टोबर १८ देखि २४ सम्म भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं राष्ट्रिय महाधिवेशन भयो । जसले आगामी पाँच वर्षका लागि राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले ‘सी जिनपिङ विचारधारा’ लाई संविधानमा सामेल गर्ने निर्णय गर्दै उनलाई माओ र देङ सियाओ पिङपछिका सबैभन्दा शक्तिशाली स्थानमा राखेको हो । यसलाई चीनमा कम्युनिस्ट पार्टीले शासन सुरु गरेपछिको यो तेस्रो युगका रुपमा हेरिएको छ उनले सन् २०५० सम्ममा चीनलाई आधुनिक समाजवादी राष्ट्रका रुपमा उभ्याउनका लागि दुई चरणको लक्ष्य निर्धारण गरेका छन् । जसमा सन् २०३५ सम्ममा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी आधुनिकीकरणमा जोड दिने र त्यसको १५ वर्षपछि समृद्ध, शक्तिशाली, सांस्कृतिक रुपले विकसित र सामञ्जस्यपूर्ण र सुन्दर चीन बनाउने लक्ष्य छ । यसका लागि चिनियाँ जनमुक्ति सेनाको सदृढिकरण, नयाँ नयाँ अन्वेषण, तिव्र आर्थिक विकास गर्दै मानवजातिका लागि थप योगदान दिने उनको भनाई छ –चीन, भुटान र भारतबीचको त्रिदेशीय सीमा क्षेत्र ‘डोकलाम’ का विषयलाई लिएर भएको विवाद पनि सन् २०१७ को अर्को महत्वपूर्ण परिघटना हो । यद्यपि यो विवाद शान्तिपूर्ण ढंगबाट नै समाधानको दिशातर्फ गएको देखिएको छ । डोकलामको विषय मुख्यगरी चीन र भुटानबीचको नटुंगिएको सीमा विवाद भएपनि भारतसँग चीनको विवाद बढ्यो । चीनले डोकलाम क्षेत्रमा सडक निर्माण गरेपछि भारतले सो क्षेत्रमा सेना खटाएपछि दुई देशबीच तनावको अवस्था सिर्जना भएको थियो –साउदी अरबसहित, युएई, बहराईन, इजिप्टलगायतले कतारसँगको कूटनीतिक सम्बन्ध सन् २०१७ जुन ५ तारिखमा विच्छेद गर्दै नाकाबन्दी लगाएपछि खाडी क्षेत्रमा समस्या उत्पन्न भयो । आतंकवादलाई प्रायोजन गरेको आरोपमा ती देशहरुले कतारमाथि व्यापार तथा यात्रामा समेत प्रतिबन्ध लगाए । अरब राष्ट्रमा देखा परेको यो संकट सन् १९९१ मा गल्फ युद्ध सकिएपछिको सबैभन्दा जटिल समस्या हो –भारतको दार्जिलिङ, कालेबुङलगायत पश्चिम बंगालको पहाडी क्षेत्रमा रहेका नेपालीभाषीमाथि ममता बनर्जी सरकारले बंगाली भाषा अनिवार्य बनाएपछि गोर्खाल्यान्ड आन्दोलन लामो समयसम्म चल्यो । सो आन्दोलनबाट कुनै निश्कर्ष निस्कन नसकेपनि भारतमा ठूलो हलचल पैदा गरिदियो पश्चिम बंगालको नेपाली भाषीको बाहुल्यता रहेको पहाडी क्षेत्रमा १० कक्षासम्म बंगाली भाषा अनिवार्य गर्ने ममता बनर्जी सरकारको निर्णयपछि नेपालीभाषीहरु आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनमा प्रहरीले ब्यापक दमन गरेपछि सो आन्दोलन गोर्खाल्याण्डको मागतर्फ मोडिएको थियो –यो बर्ष स्पेनबाट अलग हुने क्याटालोनियाको जनमत संग्रहको निर्णयले पनि चर्चा पायो । गत अक्टोबरमा स्पेनबाट अलग हुने निर्णय गरेपछि केन्द्र सरकारले क्षेत्रीय सरकारलाई हटाएर केन्द्रीय शासन लागु गरेको थियो । २१ डिसेम्बरमा भएको निर्वाचनमा पनि पृथकतावादी पार्टीले नै बहुमत ल्याएपछि त्यहाँको संकट झनै चुलिएको छ –यसै वर्षको नोभेम्बरमा प्याराडास पेपर्समार्फत सार्वजनिक भएको रिपोर्टअनुसार बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । सो अनुसन्धानमा करिब १ करोड ३४ लाख कागजपत्रको अध्ययन भएको थियो यसैगरी सन् २०१७ अनेकन परिघटनाका कारण चर्चामा रह्यो । परम्परागत दुश्मनका रुपमा रहेको इरान र साउदी अरबबीचको विवादले अरब क्षेत्र तात्यो भने इराक र सिरियामा सन् २०१४ देखि कब्जा जमाएको आईएस यसैवर्ष पराजित भयो त्यसैगरी यसै वर्षबाट औपचारिक रुपमा ब्रेक्जिटको प्रक्रिया सुरु भयो । गत वर्ष नै ईयूबाट बाहिरिने निर्णय गरेको बेलायत अब सन् २०१९ भित्र ईयूबाट औपचारिक रुपमा बाहिरिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?