दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई मन्त्री पण्डितको यस्तो चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिनुभएको छ ।

मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई विदा गर्ने पनि स्पष्ट पार्नुभयो । शुक्रबार मन्त्रालयद्धारा आयोजित वार्षिक कार्य प्रगति समिक्षात्मक बैठकमा बोल्दै उहाँले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिनेतर्फ पनि सचेत गराउनुभयो ।

मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौंता गरेको स्मरण गराउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराउनुभयो । तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही हुने मन्त्री पण्डितको भनाई छ ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरुको तह र श्रेणीको तलवमा देखिएको समस्या एक हप्ता भित्र समाधान गर्ने आश्वासन पनि दिनुभयो । उहाँले कर्मचारीहरुको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कार्वाही हुने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले गत वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दावी गर्दै चालू आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?