मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर

काठमाडौं । विभिन्न कारणले मलेसियामा अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई त्यहाँको सरकारले घर फर्किने अवसर दिएको छ ।

मलेसिया सरकारले आज (अगस्ट १) देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको हो ।

मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् ।

यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनुभयो ।

भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ ।

कामदारले स्वदेश फर्किनको लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७ सय रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमति पत्रको लागि १६० रिंगिट तिर्नुपर्ने हुन्छ ।

एकतर्फी यात्रा अनुमति पत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ ।

त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्नेछ ।

आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरुको बिगबिगी हुने भएकोले त्यसबाट जोगिन दूतावासले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?