‘आत्महत्या’को एउटा फोटो-जसले चौतर्फी आशंका उब्जायो, संसदीय समितिमा पनि प्रश्न उठ्यो

appharu
0
Shares

आइतबार अपरान्ह एकाएक एउटा खबर फैलियो– त्यो थियो चर्चित बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका मध्येका एक व्यक्ति युक्तप्रसाद श्रेष्ठको मृत्यु । काँग्रेस पर्वत जिल्ला सचिव समेत रहेका रिटायर्ड नायव सुब्बा उनी राजधानीको बालाजु-माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा गएको र त्यहीबाट हामफालेर आत्महत्या गरेको बताइएको थियो । अरु कुनै हल्ला नभएर प्रहरी निकायले नै पुष्टि गरेको थियो ।

तर, पछि एक फोटो सार्वजनिक भएपछि उनको ‘आत्महत्या’ शंकाको घेरामा तानिएको हो । सिटी सेन्टरको भवनको आठौं तलाबाट हामफालेर उनले आत्महत्या गरेको भनिएपनि शरीरबाट रगत ननिस्कनु र कुनै चोटपटक समेत नदेखिएकाले घटना शंकास्पद भएको हो । उनले अख्तियारलाई जग्गा प्रकरणमा दिएको बयानमा आफूले ‘ठूला मान्छेको निर्देशनमा काम गरेको’ बयान दिएका थिए ।

उनको फोटोलाई लिएर सुरुमा सामाजिक सञ्जालमार्फत विभिन्न आशंका व्यक्ति गरियो । त्यसलगत्तै काँग्रेसले सोमबार विज्ञप्ति नै निकालेर घटना रहस्यमय भएको बताएकोमा मंगलबार यो विषयले संसदीय समितिमा पनि प्रवेश पाएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुको साथै श्रेष्ठ मृत्यु प्रकरणमा समेत गृहमन्त्री रामबहादुर थापाको जवाफ गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कंडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनले ८ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए ।

तर, नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राखे ।

यसअघि सोमबार काँग्रेसले उनको मृत्युलाई रहस्यमय र शंकास्पद भएको बताएको थियो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको मृत्यु हुनासाथ अनुसन्धान नै नगरिकन र पोष्टमार्टम समेत नभएको अवस्थामा प्रहरीको हवला दिंदै आत्महत्या हो भनेर संचार माध्यमहरुमा सम्प्रेषित समाचारप्रति नेपाली कांग्रेस गम्भीर भएको छ र आपत्ति प्रकट गर्दछ ।

घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटना स्थलमा रगत समेत नदेखिनु, शरीरको कुनै पनि भाग चोटपटक र अंगभंग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको छ ।’

घटनाको संवेदनशीलताका साथ यथार्थ छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।
उनको आत्महत्या बारे प्रश्न उठेपनि सचिव श्रेष्ठको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकिएको छ ।

पार्टीका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा स्वर्गीय श्रेष्ठका आफन्तजनहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

ललिता निवासको जग्गा अनियमिततामा मुछिएका करीब एक सयका हाराहारीका भूमाफियामाथि अख्तियारले छानबिन गरिरहेको छ। जसमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र हुपेन्द्रमणि केसीलगायत रहेका छन् ।

सरकारले मुआब्जा दिई अधिग्रहण गरिलिएको ललिता निवास क्याम्पभित्र पर्ने २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाण्डौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषको नाममा दर्ता भएको प्रकरण नै ललितानिवास प्रकरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?