पर्यटकको प्रतीक्षामा ‘गुफाको डाँडो’ 2017-12-31 08:09

–ध्रुववसागर शर्माबेनी, म्याग्दी, १६ पुस – म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा पर्ने निकै सुन्दर, आकर्षक र मनमोहक दृश्य देख्न सकिने ‘गुफाको डाँडो’ भौतिक पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा म्याग्दीकै उत्कृष्ट पर्यटकीयस्थल बन्नसक्ने गुफाको डाँडो ओझेलमा परेको हो रमणीय एवं पर्यटकीयस्थलका रुपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधारले ठाउँ पाउन सकेको छैन । गुफाको डिलका नामले समेत चिनिएको उक्त डाँडो पर्यटकका लागि निक्कै आकर्षकस्थलका रुपमा अवस्थित छ । तर पनि भौतिक पुर्वाधार नहुँदा पछि परेको गुफाको डाँडो डाँडोमै सीमित बन्न पुगेको हो । पर्यटकीय, ऐतिहासिक र रमणीयस्थल रहे पनि प्रचारप्रसारको कमी, सहज यातायातको असुविधा र उपयुक्त पदमार्ग नहुँदा गुफाको डाँडो ओझेलमा परेको स्थानीयवासी एवं जनकल्याण माविका शिक्षक शिव बानियाँले बताए नेपालमा बाइसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औँ शताब्दीताका तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किंवदन्ती रहेको छ । जगन्नाथ मन्दिरको छुट्टै महत्व र विशेषता भए पनि अहिलेसम्म गाजने गाउँ र गुफाको डाँडामा विकासको कुनै पनि नजर पर्न सकेको छैन । गुफाको डाँडोमा तीनवटा हेलिकप्टर अट्नसक्ने हेलिप्याडसमेत रहेको स्थानीयवासी समेत रहनुभएका म्याग्दीका पत्रकार प्रताप बानियाँले जानकारी दिए म्याग्दी सदरमुकाम बेनी बजारदेखि तीन घण्टाको पैदल दूरीमा रहेको गुफाको डाँडामा सवारी साधनमार्फत डेढ घण्टामा सजिलै पुग्न सकिन्छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा अवस्थित गुफाको डाँडोबाट माघ, फागुन र चैत महिनामा ढकमक्क फूलेको लालीगुराँसको दृश्य हेर्न पाइन्छ वनजंगलको नजिकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि वनभोज खानलाई जान सकिन्छ । लालीगुराँसको सुगन्ध लिँदै धौलागिरि, अन्नपूर्णलगायतका हिमाललाई पृष्ठभूमिमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने गुफाको डिलबाट देखिने हिमाल र आकाशको दृश्य धर्तीसँग जोडिन लागेको क्षितिज जस्तो देखिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरमा जाने भक्तजन गुफाको डाँडोमा पुग्ने गरेका छन् । मन्दिरदेखि नजिकै रहेको डाँडोमा पुग्दा थकाइ मेटिनुका साथै रमाइलो र आनन्दको अनुभूति भएको बेनीबाट जगन्नाथ मन्दिरको दर्शन र गुफाको डिल हेर्न त्यहाँ पुग्नुभएका स्थानीय व्यापारी एवं यातायात व्यवसायी सुमन श्रेष्ठले बताए सो डाँडोबाट चारैतिरको डाँडाकाँडा, हरियाली तथा मनोरम हिमशृङ्खला लगायतको लोभ लाग्दो दृश्य देखिन्छ । पर्यटकीय एवं रमणीयस्थल भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव, सहयोगी दाता नहुँनु र सरकारी निकायको बेवास्ताले गुफाको डाँडो ओझेलमा परेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए उनका अनुसार गुफाको डिलमा भ्यू–टावर निर्माणका लागि चालु वर्षमा वडा कार्यालयबाट रु एक लाख बजेट विनियोजन भएको छ धार्मिक महत्वको जगन्नाथ मन्दिर र पर्यटकीय सम्भावनायुक्त गुफाको डाँडोमा विकास गर्नसकेमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने जनकल्याण मावि पुलाचौरका शिक्षक चिरञ्जीवी सुवेदी बताउछन प्रसिद्ध गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्नसकेमा पनि धार्मिक पर्यटक बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने प्रशस्तै सम्भावना रहेका छन् । ओझेलमा परेको जगन्नाथ र गुफाको डाँडोलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउनुपर्ने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?