लोकतन्त्र, हत्कडी र माइला लामा

appharu
0
Shares
माइला लामा

कसरी
मौन बस्न सक्छौ हँ !
ए ! आँखाहरु
हेरि रहन्छौ विभत्स दृष्यहरु
ए ! कानहरु

                    खेमराज आचार्य

सुनी रहन्छौ चिच्याहटहरु
ए ! हातहरु
लेखी रहन्छौ गुलामीहरु
ए ! मुखहरु
बोलि रहन्छौ चाकडीहरु
र ए ! चेतहरु
गमीरहेछौ वार्ताका नाटकिय बहसहरु ।
****
यति बेला ! हो ठिक यति बेला !
बुख्याचाहरु मस्त छन सत्तामा
सके मुठभेडकै नाममा काम तमाम गर्नु
नसके बधशालामा हाँजिर गराउँनु ….
लोकतन्त्रको दुहाई दिँदै…
आदेश दिइरहेछन् महिसासुरहरु !
आलो रगतको प्यास मेटाउन
मान्छेको खोजीमा छन्
र छानी छानी देशभक्तहरुलाई
एक पछि अर्को गर्दै
उभ्याईरहेछन लोकतान्त्रिक बधशालामा
माइला लामाहरुलाई ।
********
इतिहासका कठिन मोडहरुमा
सुरक्षा कवच बन्दै
तातो गोली पचाएर
जीवन उत्सर्ग गर्नेहरुको
इतिहास मेटाउन लालायीत
हिजोका राता मान्छे भनिने
आजका नव बादशाहहरु….!
न त एउटा इतिहास तयार गर्न सके
न त एक मुठी उज्यालो नै छर्न सके
न त बेपत्ता भएकाहरुको
लास कि सास देखाउन नै सके ।
उल्टै !
अपराधी र देश द्रोहीहरुसँग घाँटी जोड्दै
घेरा बन्दी गर्दैछन्
आलो रगतको प्यास मेटाउन
युगका राता मान्छेहरुलाई
निशानी बनाउँदै
हत्कडी लगाउँदैछन्
माइला लामाहरुको हातमा ।
*****
भुइँ मान्छेहरुको लागि
एकमुठी उज्यालोको माग गर्दा
कलिला नानीहरुको
जीवन सुरक्षाको निम्ति आवाज उठाउँदा
सबै खाले बेथितिको विरुद्धमा
आम नागरिकलाई सु-सूचित गराउँदा
किन ? प्रतिबन्ध लगाइन्छ विचार माथि ।
र गीत/सङ्गीतलाई किन संगीन देख्छन् ?
कलमलाई किन बन्दुक देख्छन् ?
र अक्षरहरुलाई
निशाना दागी उछिट्टिएको गोली देख्छन् किन ?
ए !
सत्तासिन विचलित कायर चेतहरु !
छाडी देऊ अब
आलो रगत पिउने चाहहरु
देख्न छाड ब्रह्मलुट गर्ने सपनाहरु
र व्युँझ सत्ताको चिर निद्राबाट
पुगेन र भन्या अब त !
*****
तिमीले सोचे जस्तै
जब कलमहरु ज्वालामुखी बन्दै
चेतनाको लाभा उगेल्न थाले भने
जन गीत/संगीतहरुले
तिम्रा विरुद्धमा मोर्चा कस्न थाले भने
कसरी थेग्न सक्छ र !
तिम्रो कथित मुठभेडले
अनि तिम्रो लोकतान्त्रिक बधशालाले !
त्यति बेला साङ्लो चुँडाउदै
बधशालाबाटै साँस्कृतिक मोर्चाको
नेतृत्व गर्नेछन/गाउने छन र वाच्नेछन
उज्यालोका गीतहरु/उत्सर्गका गीतहरु
कृष्णसेनका कविताहरु
अनि गुन्जाउनेछन आकास
तिम्रा बिरुद्धमा लगाइएका
मुर्दाबादका नाराहरुले
युगका राता मान्छे
लाखौं माइला लामाहरुले ।
*****
र अन्त्यमा !
बोल ए ! सत्ताका निकटका
इमान्दार मान्छेहरु !
कला-साँस्कृतिक फाँटका हस्ती भनिनेहरु
अब्बल दर्जाको लेखक हुँ भन्नेहरु
स्रष्टा माथी ट्याग लगाएर हेर्ने नगरौं
स्रष्टा ! कोहि विषेशको मात्र हुदैन
स्रष्टा सबैका साझा हुन
देश र जनताका सम्पती हुन
सत्ताको निम्ति नहोलान सहि
र होउन पनि कसरी ?
तर ! देशको निम्ति आवस्यक छन
स्वाभिमानी माइला लामाहरु ।
– खेमराज आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?