पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विक तथा लिम्घा भिरकुनाका छ वर्षीय सुमन विकको शव बुधबार फेला परेको थियो । लिम्घामा मङ्गलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिलकुमारी तरामुमगर र उनका छोरा दर्शन तरामुमगर तथा दुर्गाबहादुर सिञ्जालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते भएका ठूलो लुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको टाउकामा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाउनु परेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

पहिरोका कारण घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको उहाँले बताउनुभयो । “झण्डै साढे ३०० घर प्रभावित छन् । एक गाउँबाट अर्को गाउँमा जाने अवस्था छैन”, उहाँले भन्नुभयो । वडा नं ३ सिङ्दी गाउँ नै जोखिममा परेपछि गाउँलेलाई श्री राम माविमा राखिएको छ । उनीहरुलाई विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको शिक्षक लक्ष्मी पाण्डले जानकारी दिनुभयो ।

सत्यवती गाउँपालिका वडा नं १ का ४ घरमा पहिरोले क्षति पु¥याएको उहाँले बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण बुधबार साँझ हेलिकप्टरमार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलो लुम्पेकमा पु-याइएको छ ।

पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् । कच्ची सडक भएका कारण राहतका सामग्री पु-याउन कठिनाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?