समृद्ध मुलुक बनाउन सबै दलबीच मेलमिलाप आवश्यक: शङ्कर भण्डारी

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ ।

“मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका-५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उहाँको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहनुभएका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?