सरकार–चन्द समूह सशंकित

appharu
0
Shares

काठमाडौँ – वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज माइला लामा पक्राउ प्रकरणले सरकार र नेत्रविक्रम चन्द समूहबीच विश्वासको संकट पैदा भएको छ ।

चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीमा विस्फोट भएको थियो । शनिबार राति १२ बजे प्रहरीले काँडाघारीबाट उपत्यका इन्चार्ज माइला लामा र कार्यकर्ता रेशम लामालाई पक्राउ गरेको छ ।

सरकारले वार्ताका लागि हिंसात्मक तयारी छोड्नुपर्ने भनाइ राख्दै आएको थियो । यता चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सारेको थियो । चन्द समूहले वार्ताको निर्णय गर्नेबित्तिकै उसका नेता र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । तर पछिल्ला दुई घटनाले दुवै पक्षलाई झस्काइदिएका छन् ।

चन्द समूहले लामाको पक्राउलाई सरकारले वार्ताको वातावरण बनाउन नचाहेको रूपमा बुझेको छ । ‘इमानदारीसाथ वार्तामा आएका हौं, सरकारले उल्टै हाम्रो सुराकी गर्न थाल्यो, अब यसरी कसरी वार्ता होला र ?’ चन्द समूहका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब त हामीलाई सोच्न बाध्य बनाएको छ, सरकारको रबैया ठीक भएन ।’

वार्ताको निर्णयबित्तिकै सरकारले व्यक्तिगत रूपमा आफूहरूसँग घनीभूत छलफल बढाएको उल्लेख गर्दै ती नेताले अचानक नेता पक्राउ गर्नुबाट सरकारले वार्ता नचाहेको पुष्टि भएको बताए । ‘सधैं वार्ताबाट भागेको भन्ने हामीलाई आरोप लगाउँथे, यसपटक वार्ताबाट को भाग्यो, अब आमजनताले मूल्यांकन गर्छन्,’ उनले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?