माईला लामालाई लाग्यो ज्यान मार्ने उद्योगमा मुद्दा, के हुन्छ सजाय ?

नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप

काठमाडौं । काठमाडौँको काँडाघारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामाविरुद्ध कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने भएको छ ।
शनिबार मध्यरातमा काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लामाविरुद्ध यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता छ । प्रहरीले लामालाई लामो समयदेखि खोज्दै आएको थियो ।

लामासँगै उनका सहयोगी रेशम तामाङलाई समेत पक्राउ परेका छन् । लामामाथि नख्खुस्थित एनसेन मुख्यालयको गेटमा बम विस्फोट गरेको आरोप छ ।

लामाविरुद्ध काठमाडौं परिसरमा समेत काठमाडौंमा भएका विभिन्न विस्फोटका घटनाको योजनाकार भएको भन्दै मुद्दा रहेको बताइएको छ ।

यसअघि नख्खु विस्फोटकै घटनामा हेमन्तप्रकाश वली सुदर्शनसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार र वीरबहादुर कठायत पक्राउ परेका छन् । काठमाडौं सीतापाइलाका लामा विप्लव समूहका प्रभावशाली नेता हुन् । मध्यकमाण्ड इञ्चार्ज ओलीपछि इञ्चार्जकै हैसियतमा पक्राउ पर्ने लामा दोस्रो नेता हुन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंबाट चुनाव लडेर पराजित भएका लामा युद्धकालदेखि नै विप्लव निकट थिए ।
माओवादी युद्धका घाइतेसमेत हुन् । लामाले कयौं जनवादी गीतमा संगित समेत भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?