बाढीबाट अत्तालिएर भागेको बाघ घरको ओछ्यानमा आराम गर्न पुगेपछि…

काठमाडौं | भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा भेटिएको छ।

उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका थिए।

उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो। काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ।

थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए।

जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो।

पछि संरक्षण अधिकारीहरूलाई डाकेर बाघलाई सुरक्षित रूपमा धपाइएको थियो। त्यसक्रममा बाघलाई जगाउन पटाका पड्काएको थियो।

अनि राजमार्गमा एक घण्टा सवारी आवागमन रोकाइएको थियो। साँझ साढे ५ बजेतिर बाघ अन्तत: त्यहाँबाट उठेर जङ्गलतर्फ लाग्यो।

यसपालिको बाढीले भारतको बिहार र आसाम राज्यमा एक सयभन्दा धेरै मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?