चक्रपथ सफाइ अभियानको १०१ हप्ता: बालाजुदेखि माछापोखरीसम्म सफाइ गरियो

काठमाडौं | काठमाडौंको चक्रपथ सफाइ अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाइ गरिएको छ ।

चक्रपथ सफाइ अभियानको १०१ औं दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाइ गरिएको हो ।

घरघरबाट सफाइ अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको चक्रपथ सफाइ अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

अभियानका सहसंयोजक समेत जमकट्टेलका अनुसार सफाइ अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले निरन्तर साथ दिइरहेका छन् ।

आजको सफाइ अभियानमा पनि स्थानीय प्रहरी र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

२०७१ सालबाट सुरु गरिएको सो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ ।

संयोजक कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर सो अभियानमा सहभागी भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो ।

यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म संचालन हुनेछ । अभियानमा सहभागी भएर काठमाडौंको चक्रपथलाई सफा र स्वच्छ बनाउने अभियानमा साथ पनि संजोजक कुँवरले सबैलाई आह्वान गर्नुभयो ।

आजको सफाइ अभियानमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललगायतका स्थानीय समाजसेवी समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?