सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छौं: मन्त्री पोखरेल

काठमाडौं | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गर्नुभयो ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कारबाही गरेरै छाडने चेतावनी पनि दिनुभयो ।

सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने पनि उहाँको चेतावनी छ ।

त्यस अवसरमा उहाँले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दावी गर्नुभयो ।

उहाँले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दावी गर्दै चालू आर्थिक वर्ष भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?