कार्यालय समयमा बाहिरी काम गर्ने कर्मचारीलाई कारबाही गर्छौं: मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गर्नुभयो ।

बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?