सशस्त्र प्रहरीका सहायक हवल्दार लागुऔषधसहित भेटिएपछि…

काठमाडौं । मोरङमा लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट सुनसरीका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेका उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको हो ।

साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?