भोलिदेखि इन्टरनेटको मूल्य बढ्ने, कति पुग्यो ?

काठमाडाैं । भोलिदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्ने भएको छ। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत इन्टरनेट सेवा शूल्क (टीएससी) लगाउने भएपछि इन्टरनेटकोमुल्य बढ्ने भएको हो ।

भोलिदेखि इन्टरनेट प्रयोगकर्ताले अहिले तिरिरहेको मूल्यमा १३ प्रतिशत महङ्गो शुल्क तिर्नुपर्नेछ ।

सरकारले गत आर्थिक वर्षको बजेटनै इन्टरनेट सेवा शुल्क (टिएससी) लगाउने बताएको थियो । त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने भएकोले इन्टरनेट सेवा प्रदायक तथा उपभोक्ताले यसको विरोध गरेका थिए ।

त्यसपछि सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग छलफल गरी १३ प्रतिशत सेवा शुल्क लगाए पनि सेवा प्रदायकलाई सहुलियत दिइने भएपछि उपभोक्ताले तिर्ने मूल्य नबढ्ने सहमति भएको थियो।

सरकारसँगको सहमतिमा इन्टरनेट जडानगर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्टरनेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तूर छुट दिने बताइएको थियो।

यस्तै, इन्टरनेट सेवा प्रदायकहरुले उपभोत्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँचसय रुपैयाँ बढी लिने तथा शुरुमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरकराखी दूरसञ्चार सेवा शुल्क लाग्ने बताइएको थियो । यसअघि इन्टरनेट सेवा प्रदायकको आयमा सेवा शुल्क लाग्ने व्यवस्था थियो।

तर, सरकारसँग भएको लिखित सहमति सरकार आफैले कार्यन्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गते (भोलि)देखि इन्टरनेटको मूल्यमा १३ प्रतिशत शुल्क जोड्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?