मलेसियालाई ६ रनले हराउँदै नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । आइतबार भएको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

आईसीसीबाट टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २-१ ले जितेको थियो ।

किनरारा ओभलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।

मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । अमीनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।

मुहम्मद रियाहदत २१ रनमा नटआउट रहे । अहमेद फैज १७, शफीक शरीफ १०, अरुवर अरुद्वीन ७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए ।

योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।

मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपालले मलेसियासँग सिरिज खेलेको हो । अब नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?