साताभरमा २ अर्ब ६३ करोडको सेयर कारोबार

काठमाडौं । वित्तीय क्षेत्रमा ठूला बैंकहरुको मर्जरको विषय चर्चा चलिरहदा सेयर बजार भने ओरालो दिशामा छ । ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चासँगै वाणिज्य बैंकको सेयर खरिद बिक्रीमा आकर्षण देखिए पनि सेयर कारोबार नेप्से परिसूचक भने उकालो लाग्न सकेको छैन ।

बिग मर्जरको चर्चा शुरु भए देखिका अधिकांश दिनहरुमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत आइतबारदेखि बिहीबारसम्मको अवस्था पनि उस्तै देखियो ।

यो साताभर सेयर बजारमा उतार चढावपूर्ण कारोवार भयो । सातामा पाँच दिन खुलेको बजारमा कूल १७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६१६ कित्ता सेयर रु दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा खरीद बिक्री भए ।

गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार आठ अङ्कले घटेर एक हजार २६० दशमलव ४७ मा झरेको बजार यस साताको पहिलो दिन आइतबार कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४दशमलव ४५ बिन्दुले घटेर एक हजार २५६ दशमलव ०४ बिन्दुमा पुग्यो ।

कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । सोमबार पनि सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन नेप्से परिसूचक ८ दशमलव ७० विन्दुले घटेर एक हजार २४७ दशमलव ३५ विन्दुमा पुग्यो । नेप्से घट्दा कारोवार रकम भने झण्डै ६० करोडको हाराहारीमा रह्यो ।

कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता सेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भयो । कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लाग्यो । उतारचढावकाबीच परिसूचक २दशमलव ९२ अङ्कले बढेर एक हजार २५०दशमलव २७ मा पुगेर थामियो ।

परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता सेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद–बिक्री भए ।

मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावकाबीच नेप्से परिसूचक १ दशमलव १२ अङ्कले घटेर एक हजार २४९ दशमलव १५ मा पुगेर रोकियो । सो दिन कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता सेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए ।

परिसूचक ओरालो लाग्दा कारोवार रकम पनि औशतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता सेयर ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?