छोरीलाई बलात्कार गर्ने माहोल मिलाइदिने काकी पक्राउ, भुत लागेको भन्दै झारफूकको नाटक

appharu
0
Shares

बालिका बलात्कार गर्ने माहौल मिलाइदिएकी काकी पक्राउ परेकी छिन् ।

वाइन मिसाइएको स्प्राइट खुवाएर १४ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग पुर्याएकी उनी पक्राउ परेकी हुन् ।

घटना सप्तरीको हो ।

तिलाठी कोइलाडी गाउँपालिकाको वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविको कोठामा लगेर बलात्कारको वातावरण मिलाइ दिएको आरोपमा पारिवारिक नाता भित्रकै काकी ३५ वर्षीया महिलालाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार पारिश्रमिक दिने बहानामा प्रतिक्षा गर्न लगाई अबेर रात परेपछि नास्ता पानी खान जबरजस्ती गरी झुक्याएर नशालु पदार्थ सेवन गराई घटना गराएको देखिन्छ।

अनुसन्धानबाट पनि बालिकालाई मजदुरीको काममा लगाई दिने काकीकै दबाबमा झुक्याएर मादक पदार्थ खुवाइएको देखिन्छ ।

करिब तीन करोड रुपैयाँको लागतमा लक्ष्मीबल्लभ नरसिंह माविको प्रांगणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्न बालिकालाई उनकी काकीले पाँच दिनदेखि लगिरहेकी थिइन्। गत बुधबार दिउँसो १२ बजे नै ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साट्न गएको छ भनी साँझसम्म रोकिराखेपछि घर फर्कन खोज्दा विभिन्न बहाना बनाई अल्मलाएर राखेको पीडितले बताइन्।

पीडितका अनुसार पारिश्रमिक लिएर सँगै घर फर्कने भन्दै काकीले निर्माणको काम गर्ने मुन्सी र विद्यालयका कार्यालय सहायक शिवशंकर मण्डल बसेको माथिल्लो तलाको कोठामा लगेर नास्ता पानी खाँदै गरौं, ठेकेदार चेक साटेर आउँदैछ भनी माछा र स्प्राइट खान दिइन्।

कोठामा विद्यार्थी पढने पाँचवटा बेञ्च जोडेर खाटजस्तो बनाएको र त्यही बस्न लगाई माछा र चिसो स्प्राइट खान दिएको पीडित प्रहरीसमक्ष बयान दिएकी छिन्। चिसो र गुलियो स्प्राइट चार(पाँच गिलास खाएपछि टाउको भारी भएर लडेको र ढोका लगाई आरोपितले बलात्कार गरेको कुरा बिहीबार बिहान होसमा आएपछि छोरीले बताएकी पीडितकी आमाले जनाइकी छन्। काकीले राति अबेलासम्म राखी झुक्याएर मदिरा खुवाइन् बालिकाले भनिन्, ”उनकै योजनामा घटना भएको हो।” मदिराले लठ्ठिएकी बालिकालाई राति १० बजे बर्साइन चोकमा ल्याएर आरोपितले छाडे‍का थिए।

पछि काकी पर्ने महिलाले बालिकालाई देबी(भुत लागेकाले धामीलाई देखाउनुपर्ने भन्दै परिवारलाई खबर गरेको बालिकाकी आमाले जानकारी दिइन्। आफूहरुले पनि सुरुमा उनको कुरामा विश्वास गरेको तर बिहान छोरी होसमा आएपछि उनले बताएको कुराले आफ्नो होस उडेको बालिकाकी आमाले बताइन्। ”घटना लुकाउन महिलाले देवी,भूत लागेको भनेर राति भ्रमपूर्ण हल्ला गरेकी रहिछन्, गस्तीमा भएका प्रहरीले धामीकहाँ नभई अस्पताल लान सल्लाह दिएपछि राजविराजस्थित अस्पताल ल्यायौं,” उनले बताइन्।

पीडित बालिकाकी आमासहित स्थानीयवासीले शुक्रबार प्रहरी चौकी कोइलाडी बरसाईनमा पुगेर घटना सुनाएपछि आइतबार पीडितपक्ष जिल्ला प्रहरी कार्यालय आएर मौखिक उजुरी गरे। पीडित पक्षले सोमबार लिखित उजुरी ल्याएपछि सोमबार राति १० बजे मात्र बालिकाको स्वास्थ्य परीक्षण भएको हो।

पीडकका आफन्तको दबाब र घेराउका कारण कानुन व्यावसायीकहाँ गएर उजुरी लेखाएर ल्याउन समेत समस्या परेको पीडितका बुवाले बताए। मुन्सीको नाम, ठेगाना थाहा नभए पनि पहिचान गर्न सक्ने बताएकी बालिकाले उनको हुलिया भने बताएकी छिन्। पक्राउ परेकी महिला बाहेक मण्डल र मुन्सी फरार छन्।

पीडित बालिकाले सर्बत भन्दै तरल पदार्थ खुवाएको केही समयपछि आफू लठ्ठिएको र होसमा आउँदा आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बयान दिएकी छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले बलात्कारमा संलग्न र बलात्कारको योजना बनाउनेसहित तीनजनाविरुद्ध दिएको उजुरी दर्ता गरिएको जनाएको छ।

यसअघि पनि सो विद्यालयभित्र ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहारको घटना भएको थियो। विद्यालयको कोठाभित्रै ५५ वर्षीय सुर्यनारायण साहले ०७५ वैशाख १६ गते यौन दुव्र्यवहार गर्दै गरेको भिडिओ प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले असार ६ गते पक्राउ गरी मुद्दा चलाएको थियो। जिल्ला अदालतले आरोपित साहलाई असार २२ गते पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। समाचार स्रोत अन्नपूर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?