तनहुँका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

काठमाडौं । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।

चालू आर्थिक वर्ष २०७५-७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो । कूल  १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिए ।

उनले परम्परागतरूपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित कृषकको मागबमोजिम हाते ट्र्याक्टर वितरण गरिएको बताए । उनले भने, “व्यावसायिक तथा बेमौसमी तरकारी खेतीका लागि खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि वितरण गरेका हौँ ।

” उनका अनुसार सहकारी, निजी उद्यमी, फार्म र सामूहिक कृषकलाई प्राथमिकतामा राखी हातेट्र्याक्टर वितरण गरिएको छ । उनले भने, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ, कृषिमा यान्त्रिकीकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।” 

हाते ट्र्याक्टर पाएपछि कृषक खुशी भएका छन् । व्यास नगरपालिका–६ श्याम्घाका कृषक लालबहादुर पन्थले हाते ट्र्याक्टरको प्रयोगले समयको सदुपयोगसँगै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए । उनले भने, “हाते ट्र्याक्टरले थोरै समयमा धेरै काम गर्न सकिने अनुभव बटुलेपछि कृषक यसतर्फ आकर्षित हुन थालेका छन् ।

गोरुले जोत्दा दुई दिन लाग्ने बारीको काम हाते ट्र्याक्टरमार्फत केही घण्टामै सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?